सिओल स्थित कोरीयाको सछाङमा राहादानी घुम्ती शिविर तथा सचेतना कार्यक्रम हुने भएको छ ।
नेपाली राजदूतावास, सिओलले दक्षिण कोरियामा रहेका नेपाली नागरिकलाई सहज, सरल तथा सेवाग्राहीमैत्री रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आगामी २८ जुन २०२६ (१४ असार २०८३) मा सछाङमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
राजदूतावासको आयोजनामा तथा सछाङ नेपाली समाज दक्षिण कोरियाको सह-आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रममा राहदानी नवीकरण, कन्सुलर सेवा तथा श्रमिक सचेतनासम्बन्धी जानकारी प्रदान गरिने जनाइएको छ।
राजदूतावासका अनुसार घुम्ती शिविरबाट राहदानी तथा कन्सुलर सेवा लिन प्रचलित कानुनले तोकेको शुल्क र हुलाक खर्च (३०४० वन) बाहेक कुनै अतिरिक्त शुल्क लाग्ने छैन। राहदानीको राजश्व रकम भने अनलाइन माध्यमबाट मात्र भुक्तानी गर्नुपर्नेछ र नगद स्वीकार गरिने छैन।
सेवा लिन इच्छुक नेपाली नागरिकले पुरानो राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा रेसिडेन्स कार्डको सक्कल प्रति साथमा ल्याउनुपर्नेछ। साथै, अनलाइन फारम भरेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा सम्पर्क व्यक्तिलाई पठाउनुपर्ने व्यवस्था गरिएको छ।
नवजात शिशुको हकमा भने पहिले जन्मदर्ता प्रमाणपत्र जारी गर्नुपर्ने भएकाले जन्मदर्ता र राहदानी आवेदनका लागि दूतावासमै उपस्थित भई सेवा लिनुपर्ने राजदूतावासले जनाएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सछाङ नेपाली समाजका अध्यक्ष दामोदर पौडेल तथा लोकेन्द्र सुवेदीलाई सम्पर्क गर्न सकिने जनाइएको छ।
