साउदी अरबले सबै श्रमिक र कर्मचारीका लागि अनिवार्य व्यावसायिक योग्यता तथा दीर्घरोगसम्बन्धी स्वास्थ्य परीक्षण लागू गरेको छ। मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार यो व्यवस्था सरकारी, निजी र गैरनाफामूलक क्षेत्रका सबै कार्यस्थलमा चरणबद्ध रूपमा लागू हुनेछ।
नयाँ प्रणाली तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा नयाँ भर्ना हुने कामदारको अनिवार्य पूर्व-नियुक्ति स्वास्थ्य परीक्षण गरिनेछ। नियम लागू भएको पहिलो छ महिनाभित्र रोजगारदाताले स्वास्थ्य परीक्षण सम्पन्न गरी नतिजा स्वीकृत इलेक्ट्रोनिक प्रणालीमार्फत बुझाउनुपर्नेछ। दोस्रो चरण १२ महिनासम्म चल्नेछ र यस क्रममा विद्यमान कर्मचारी, विशेष गरी उच्च जोखिम भएका कार्यस्थलका कामदारहरू, परीक्षणको दायरामा आउनेछन्। अन्तिम चरणमा भने यो व्यवस्था सबै क्षेत्र, सबै प्रकारका करार र सबै श्रमिकमा पूर्ण रूपमा लागू हुनेछ।
मन्त्रालयका अनुसार जुन श्रमिकले तोकिएको व्यावसायिक स्वास्थ्य मापदण्ड पूरा गर्न सक्दैनन्, उनीहरूले आफ्नो हालको पदमा काम जारी राख्न पाउने छैनन्। आवश्यक परे उनीहरूलाई अर्को जिम्मेवारीमा सार्ने वा पुनः परीक्षण गर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ। नयाँ कामदारले काम सुरु गर्नुअघि नै अधिकृत व्यावसायिक स्वास्थ्य विशेषज्ञबाट स्वीकृति पाउनुपर्नेछ।
यो नियम काम सुरु गर्नु अघि मात्रै होइन, कार्यकालका बीचमा पनि लागू हुन सक्छ। कार्यस्थलमा चोटपटक लागेपछि, कामसँग सम्बन्धित रोग देखिएपछि, कार्य जिम्मेवारी परिवर्तन हुँदा, काम गर्ने वातावरण फेरिँदा वा निश्चित पेशामा नियमित स्वास्थ्य परीक्षणको आवश्यकता पर्दा पुनः जाँच गरिनेछ। साउदीको राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषद्ले यो व्यवस्थाले प्रारम्भिक रोग पहिचान, कार्यस्थलमा हुने चोटपटक र रोग घटाउने, तथा कर्मचारीको शारीरिक र मानसिक क्षमता मूल्यांकन गर्ने लक्ष्य राखेको जनाएको छ।
परिषद्को आधिकारिक नियमावलीमा यो प्रावधान सरकारी निकाय, निजी क्षेत्र, गैरनाफामूलक संस्था, कूटनीतिक तथा वाणिज्य दूतावासका कर्मचारीसम्म लागू हुने उल्लेख छ। नियम उल्लंघन भए सम्बन्धित कानुनअनुसार सजाय र जरिवाना लाग्ने व्यवस्था पनि छ।
साउदीमा काम गर्ने वा साउदी जाने तयारीमा रहेका नेपाली श्रमिकका लागि यो सूचना विशेष रूपमा महत्त्वपूर्ण छ। निर्माण, सेवा, प्राविधिक, औद्योगिक वा अन्य क्षेत्रमा काम गर्ने श्रमिकले अब रोजगारदाताले गराउने स्वास्थ्य परीक्षण, व्यावसायिक फिटनेस मूल्यांकन र कागजी प्रक्रिया बारे थप सतर्क रहनुपर्ने देखिएको छ। विशेषगरी नयाँ भर्ना हुने कामदारले काम सुरु गर्नुअघि परीक्षण स्वीकृत हुनैपर्ने भएकाले भिसा प्रक्रिया र रोजगार सम्झौतासँगै स्वास्थ्य कागजात पनि महत्त्वपूर्ण बन्नेछ।
साउदी सरकारले यो नीति कार्यस्थललाई अझ सुरक्षित, अनुशासित र उत्पादक बनाउने उद्देश्यले ल्याएको जनाएको छ। त्यसैले साउदीमा रहेका नेपालीहरूले आफ्ना स्वास्थ्य कागजात अद्यावधिक राख्नु, रोजगारदाताले माग गरेका परीक्षण समयमै पूरा गर्नु र आधिकारिक निर्देशनअनुसार अघि बढ्नु उपयुक्त हुनेछ।