साउदी अरेबियाले एक हप्तामा ११,००० भन्दा बढी अवैध आप्रवासीलाई देश निकाला

आप्रवासन आप्रवासन

साउदी अरेबियाले अध्यागमन, श्रम तथा सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्ने विदेशी नागरिकविरुद्ध सञ्चालन गरेको देशव्यापी विशेष अभियान अन्तर्गत एक सातामै ११ हजार २९७ जना अवैध विदेशीलाई देशनिकाला (डिपोर्ट) गरेको छ। साउदी गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जुन १८ देखि २४ सम्म सञ्चालन गरिएको संयुक्त सुरक्षा अभियानमा १५ हजार २३१ जना विदेशी नागरिक पक्राउ परेका हुन्।

मन्त्रालयका अनुसार पक्राउ परेकामध्ये ७ हजार ५८९ जना आवास (रेसिडेन्सी) कानुन उल्लंघन, ४ हजार ४४३ जना सीमा सुरक्षा कानुन उल्लंघन तथा ३ हजार १९९ जना श्रम कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन्। कारबाही सुरक्षा निकाय र सम्बन्धित सरकारी संस्थाहरूको संयुक्त टोलीले देशभर सञ्चालन गरेको थियो।

११ हजारभन्दा बढीलाई देशनिकाला, हजारौंको प्रक्रिया जारी

कारबाहीका क्रममा पक्राउ परेकामध्ये ११ हजार २९७ जनालाई स्वदेश फर्काइएको छ। साथै १५ हजार १०९ जनालाई आफ्नो देशको दूतावास वा कूटनीतिक नियोगमार्फत यात्रा अनुमति (ट्राभल डकुमेन्ट) प्राप्त गर्ने प्रक्रियामा पठाइएको छ भने ३ हजार ६१८ जनाको यात्रा व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ।

यसले साउदी सरकारले अवैध रूपमा बसोबास गर्ने, भिसा अवधि नाघ्ने वा श्रम कानुन उल्लंघन गर्ने विदेशीप्रति पछिल्लो समय निकै कडा नीति अपनाइरहेको स्पष्ट देखिएको छ।

नेपाली श्रमिकका लागि किन महत्त्वपूर्ण?

साउदी अरेबिया नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। हाल लाखौं नेपाली निर्माण, उत्पादन, सेवा, सुरक्षा, होटल तथा घरेलु श्रमलगायत विभिन्न क्षेत्रमा कार्यरत छन्।

पछिल्ला महिनाहरूमा साउदी सरकारले नियमित रूपमा देशव्यापी निरीक्षण अभियान सञ्चालन गर्दै आएको छ। यस क्रममा भिसा अवधि सकिएर पनि बसिरहेका, रोजगारदाताको अनुमति वा कानुनी प्रक्रिया बिना काम परिवर्तन गरेका, श्रम तथा आवाससम्बन्धी नियम उल्लंघन गरेका विदेशीहरूलाई पक्राउ गरी स्वदेश फर्काउने क्रम जारी छ।

यी गल्तीले पर्न सक्छ ठूलो समस्या

श्रम विज्ञहरूका अनुसार नेपाली श्रमिकले विशेष गरी यी विषयमा सावधानी अपनाउनुपर्ने आवश्यकता छ–

  • इकामा (Iqama) वा रेसिडेन्सी कार्ड समयमै नवीकरण भएको छ कि छैन भन्ने सुनिश्चित गर्ने।
  • श्रम सम्झौताअनुसार मात्रै काम गर्ने।
  • रोजगारदाता परिवर्तन गर्दा कानुनी प्रक्रिया पूरा गर्ने।
  • भिसाको अवधि सकिएपछि अवैध रूपमा नबस्ने।
  • कुनै पनि बिचौलिया वा अवैध रोजगारी प्रस्तावमा विश्वास नगर्ने।

यस्ता नियम उल्लंघन गरे पक्राउ, जरिवाना, हिरासत, देशनिकाला तथा भविष्यमा पुनः साउदी प्रवेशमा प्रतिबन्ध लाग्न सक्ने जोखिम हुन्छ।

सहयोग गर्ने व्यक्तिमाथि पनि कडा सजाय

साउदी गृह मन्त्रालयले अवैध रूपमा बस्ने वा काम गर्ने व्यक्तिलाई आश्रय दिने, रोजगारी उपलब्ध गराउने, यातायात सुविधा दिने वा कुनै पनि प्रकारले सहयोग गर्ने व्यक्तिमाथि पनि कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

यस्ता गतिविधिमा संलग्न पाइए १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्म जरिवाना, साथै प्रयोग गरिएका सवारी साधन र सम्पत्ति जफत हुन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

नेपाली दूतावासको सुझाव

यद्यपि यो कारबाही कुनै एक देशका नागरिकलाई मात्र लक्षित गरिएको होइन, साउदीमा रहेका नेपाली श्रमिकलाई पनि आफ्नो सबै कागजात वैध राख्न, इकामा तथा श्रम अनुमति समयमै नवीकरण गर्न, कानुनी प्रक्रियाबिना रोजगारदाता परिवर्तन नगर्न तथा समस्या परे तुरुन्त नेपाली दूतावास वा सम्बन्धित साउदी सरकारी निकायसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

श्रम अधिकारसम्बन्धी जानकारहरूका अनुसार साउदी सरकारले अध्यागमन र श्रम कानुन कार्यान्वयनलाई अझ कडा बनाइरहेको अवस्थामा नेपाली श्रमिकले कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गर्नु नै सुरक्षित वैदेशिक रोजगारीको आधार हुने उनीहरूको भनाइ छ।