अमेरिकामा आप्रवासी

अमेरिकाले १३१ आप्रवासीलाई देश निकाला गरी पुर्‍यायो उज्बेकिस्तान

आप्रवासन आप्रवासन

अमेरिकाले १३१ जना एसियाली आप्रवासीलाई देश निकाला गरी उज्बेकिस्तान पुर्‍याएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले बुधबार ती आप्रवासीहरूलाई उनीहरूको देश फर्काउनुको साटो उज्बेकिस्तान पठाएको हो ।

ती आप्रवासीहरू किर्गिस्तान, उज्बेकिस्तान र कजाकस्तानका नागरिक हुन् । अवैध रूपमा अमेरिकामा बसोबास गरेको भन्दै केही दिनअघि मात्रै उनीहरूलाई पक्राउ गरिएको थियो ।

उज्बेकिस्तानले अमेरिकासँग आप्रवासीलाई ग्रहण गर्ने गरेको समझदारीमा टेकेर ती आप्रवासीलाई उज्बेकिस्तान पठाइएको हो । ती आप्रवासीलाई लिन उज्बेकिस्तानले नै विशेष विमान पठाएको जनाइएको छ । 

कागजातविहीन आप्रवासीप्रति अमेरिका झन् कठोर रूपमा प्रस्तुत हुन थालेको छ र उनीहरूमाथिको धरपकडलाई तीव्र बनाउँदै लगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई तेस्रो देश पठाउन सकिने नीति अपनाएका छन् ।

यसअघि तेस्रो देशका आप्रवासीहरूलाई पानामा, एल साल्भाडोर जस्ता देशका जेलहरूमा पठाइने गरिएको थियो । त्यस्तै, केही दिनअघि एक इराकी आप्रवासीलाई रुवान्डा पठाइएको थियो।

पानामा पुर्‍याइएका आप्रवासीहरूको भिडमा ३ जना  नेपाली समेत छन् । उनीहरूको अवस्था अझै अज्ञात छ ।