वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी बस्ने रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौँ महानगरपालिका-१६ बस्ने धादिङकी ३४ वर्षीया सन्तोषी लामा, चन्द्रागिरीका ४१ वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका-१५ का २९ वर्षीय सरिब गिरी रहेका छन् ।
पक्राउ परेकाहरूमध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ र सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रुपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितहरूको सोही उजुरीका आधारमा प्रहरीले वाङ्दीलाई काठमाडौँ महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौँ-१२ र सन्तोषीलाई काठमाडौँ-१५ बाट शनिबार पक्राउ गरेको हो । यसैगरी रामदासलाई काठमाडौँ-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौँ-१५ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।