दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्क वृद्धि भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पि.एस.कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको छ ।
यसअघि भिसा शुल्क बापत १० हजार ७०० रुपैयाँ बुझाउँदै आएकोमा अबदेखि कामदारले ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ । नेपालस्थित कोरियन राजदूतावासको १ जुलाई २०२६ को पत्रानुसार यो नयाँ शुल्क कायम गरिएको शाखाले जनाएको छ ।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरिसकेका व्यक्तिहरूले ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा नयाँ तोकिएको शुल्क बुझाउनुपर्नेछ ।
ईपीएस शाखाले भूलवश वा कुनै कारणले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा उक्त रकम फिर्ता नहुने बताएको छ ।