एयर इन्डिया घाटा

पाकिस्तानका कारण एयर इन्डियालाई ८१ अर्ब घाटा, गुहार्‍यो सरकार

आप्रवासन आप्रवासन

पाकिस्तानले भारतीय एयरलाइन्सका लागि आफ्नो आकाश बन्द गरिदिएपछि त्यसको प्रत्यक्ष असर भारतीय एयरलाइन्सहरूले चुकाउनु देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सका अनुसार पाकिस्तानी आकाश बन्दका कारण भारतको एयर इन्डियाले मात्र ६ सय मिलियन अमेरिकी डलर घाटा व्यहोनुपर्ने छ । यो भनेको ८१ अर्ब नेपाली रुपैयाँ भन्दा बढी हो ।

यदि पाकिस्तानी हवाई आकाश बन्द एक वर्षसम्म लम्बिएमा आफूलाई सो रकम बराबर घाटा लाग्ने रिपोर्ट एयर इन्डियाले भारत सरकारलाई बुझाएको छ । एयर इन्डियाले सो घाटा आफूले व्यहोर्न नसक्ने भन्दै सरकारसँग सहायता माग गरेको छ । एयर इन्डियाले पाकिस्तानले हवाई मार्ग बन्द गरुन्जेल त्यसको क्षतिपूर्ति बापत भारत सरकारले अनुदान दिनुपर्ने माग गरेको हो ।

भारत र पाकिस्तानबिच बढ्दो तिक्तताका माझ दुवैले एक अर्काका एयरलाइन्सहरूलाई आफ्नो हवाई मार्ग बन्द गरेका छन् । यसले गर्दा दिल्लीबाट खाडी, पश्चिम एसिया, युरोप र उत्तर अमेरिकामा उडान भर्ने भारतीय कम्पनीहरूले घुमाउरो तथा लामो रुट हुँदै यात्रा गर्नुपरेको छ । यसरी रुट लम्बिँदा एयरलाइन्सको इन्धन खपत, कतै अवतरण गर्नुपर्दा अवतरण शुल्क र पाइलटलाई तिर्नुपर्ने शुल्क बढेको छ ।

भारतको एयरलाइन्स बजारमा एयर इन्डियाले मात्र साढे २६ प्रतिशत हिस्सा ओगटेको छ । उसको सम्भावित घाटाको तथ्याङ्क हेर्दा पाकिस्तानी आकाश बन्द हुँदा भारतीय एयरलाइन्सहरूले खर्बौँ रकम घाटा व्यहोर्नुपर्ने देखिन्छ ।