सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।
अप्रिल महिनाको पर्यटक आगमनको रेकर्डमा यो सङ्ख्या हालसम्मकै उच्च हो । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै, सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
कोरोना महामारीपूर्व अर्थात् सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै अर्थात् १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएको रेकर्ड बनेको थियो ।
तर त्यसपछिका वर्षहरूमा ओरालो लागेको पर्यटक आगमन पुन: लयमा फर्किन थालेको हो ।
सन् २०२५ को अप्रिलमा सबैभन्दा धेरै अर्थात् २५ हजार ९३३ जना पर्यटक भारतबाट भित्रिएका छन् । भारतपछि अमेरिकाबाट १० हजार ५३ र चीनबाट ९ हजार ३७ जना आएका छन् ।
योसँगै सन् २०२५ को ४ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ४ लाख १५ हजार ४८ पुगेको छ ।