अस्ट्रेलियामा सत्ताधारी लेबर पार्टीले चुनाव जितेसँगै त्यहाँको हाउजिङ मार्केटमा सकारात्मक सन्देश गएको छ । अस्ट्रेलियामा अगामी तीन वर्षका लागि एन्थोनी अल्बनिजीले सत्ता सम्हालेका छन् । पुन सत्तामा आएको लेबर पार्टीले हाउजिङ मार्केट नयाँ योजना ल्याउने अपेक्षा गरिएको छ ।
त्यहाँ रहेका नेपालीले पनि कस्ट अफ लिभिङ र घरको हाहाकारको समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् । अस्ट्रेलियामा घरको मूल्यको वृद्धि वार्षिक सरदर ६ प्रतिशत मात्रै हुने गरेको थियो । पछिल्लो तीस वर्षमा वार्षिक ६ प्रतिशतको हाराहारीमा मात्रै बढेको अस्ट्रेलियाको रियल स्टेट आजभोलि तीन महिनामै ६ प्रतिशत बढ्ने सङ्केत देखिन्छ । कोभिडपछि सन् २०२५ सम्म आइपुग्दा अस्ट्रेलियामा घर बेच्नेहरूले राम्रो आम्दानी पनि गरेका छन् । अस्ट्रेलियामा घरको मूल्य बढ्नुको मुख्य कारण आप्रवासीहरूको वृद्धिलाई मानिन्छ । देश अत्यन्तै ठुलो तर जनसङ्ख्या कम भएका कारणले गर्दा अस्ट्रेलियाले माइग्रेसनलाई यहाँको मुख्य मुद्दा बनाएको छ ।
कोभिडपछि नयाँ घरहरू नबन्नु र विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि हुनुले यहाँको हाउजिङमा चाप पारेको हो । बिस्तारै नयाँ घरहरू बनाएर माग धान्ने लेबर पार्टीको मुख्य योजना रहेको छ । हालसालै सरकारले दुई वर्षका लागि यहाँका नागरिक र स्थायी बासिन्दा बाहेकले पुरानो घर किन्न नपाउने, नयाँ घर मात्रै किन्नु पर्ने निर्णय पनि गरेको थियो । जुन अहिले कार्यान्वयनमा छ । तर यसबाट त्यहाँ रहेका नेपालीले सहुलियत लिन सक्नेछन् ।
अब घर किन्न चाहने नेपालीका लागि के के सहुलियत हुनेछ त ?
१.पाँच प्रतिशत डिपोजिटमै घर किन्न मिल्ने
अल्बनिजी सरकारले घोषणा गरेको योजनाअनुसार अब पहिलो घर किन्न चाहने नागरिक वा स्थायी बासिन्दाहरूले जम्मा ५ प्रतिशत डिपोजिटमै घर किन्न पाउनेछन् ।
२.लेन्डर्स मोर्टगेज इन्स्योरेन्स LMI तिर्नु नपर्ने
सामान्यतया थोरै डिपोजिट दिँदा घर किन्नेहरूले LMI नामक बीमा शुल्क तिर्नुपर्थ्यो, जुन हजारौं डलर हुन सक्थ्यो। तर अब यो नयाँ योजनामा LMI छुट दिइनेछ, जसले थप आर्थिक बोझ घटाउँछ।
३.वार्षिक ३५ सय घरका लागि ग्यारेन्टी स्किमको पहुँच
सरकारले जारी राखेको फर्स्ट होम ग्यारेन्टी स्किम अन्तर्गत प्रत्येक वर्ष ३५,००० घरका लागि सहुलियत उपलब्ध हुने छ। नेपालीहरूलाई पनि, यदि उनीहरू स्थायी बासिन्दा वा नागरिक छन् भने, यो स्किममा सहभागी हुन सकिन्छ।
४.घरको मूल्य सीमा बढ्ने अपेक्षा
अहिलेसम्म यो स्किममा घरको मूल्यमा सीमा तोकिएको छ, जसले विशेष गरी सिड्नी वा मेलबर्नजस्ता महँगा सहरमा घर किन्न खोज्नेहरूलाई असर गरेको थियो। अब सरकारले मूल्य सीमा वृद्धि गर्ने तयारी गरेको छ, जसले नेपाली समुदायलाई पनि लाभ मिल्नेछ।
५. आवेदन प्रक्रिया सहज र निःशुल्क
यो योजनामा सहभागी हुनका लागि मोर्गेज ब्रोकरमार्फत आवेदन दिन सकिन्छ, जसमा अधिकांश अवस्थामा सेवाग्राहीले शुल्क तिर्नु पर्दैन। ब्रोकरले स्किमअनुकूल बैंक छनोट, कागजात मिलाउने, र आवेदन प्रक्रियामा सहयोग गर्छन् – जुन नेपालीहरूका लागि धेरै सहज माध्यम हो ।