संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ज्येष्ठ नागरिक, अशक्तता भएका तथा हिँडडुल गर्न कठिनाइ भएका सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालय परिसरमा व्हीलचेयरको व्यवस्था गरेको छ।
मन्त्रालयले सेवा प्रवाहलाई सुरक्षित, सहज, समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। यसबाट मन्त्रालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा हिँडडुल गर्न कठिनाइ हुने सेवाग्राहीलाई सम्मानजनक रूपमा आवतजावत गर्न तथा आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार सार्वजनिक सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउन आवश्यक पूर्वाधार तथा सुविधा विस्तार गर्ने नीति अनुरूप यो व्यवस्था गरिएको हो। यस पहलले सेवाग्राहीको सुविधा अभिवृद्धि गर्नुका साथै समावेशी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
