कुवेतमा ११ हजार ७ सय नयाँ रेसिडेन्सी कानुन उल्लंघनका घटना, वैध बसोबास अनुमति भने ३१ लाख नाघ्यो

संगम पहरी संगम पहरी

काठमाडौं। नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक कुवेतमा सन् २०२५ भरि रेसिडेन्सी (बसोबास) सम्बन्धी कानुन उल्लंघनका ११ हजार ७ सय नयाँ घटना दर्ता भएका छन्। यो संख्या सन् २०२४ को तुलनामा एक हजारले बढी हो। यद्यपि, कुवेतमा अवैध रूपमा बसोबास गर्ने व्यक्तिको कुल संख्या भने लगातार दोस्रो वर्ष घटेको देखिएको छ। कुवेतको केन्द्रीय तथ्यांक ब्युरो (Central Statistical Bureau-CSB) ले सार्वजनिक गरेको अध्यागमन तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार सन् २०२४ मा कुवेतमा कुल ८१ हजार ५ सय रेसिडेन्सी उल्लंघनकर्ता रहेका थिए भने सन् २०२५ को अन्त्यसम्म यो संख्या घटेर ८० हजार ८ सयमा पुगेको छ। यसले नयाँ उल्लंघनका घटना बढे पनि पुराना उल्लंघनकर्ताको कानुनी अवस्था मिलाउने तथा कारबाही गर्ने सरकारी प्रयास प्रभावकारी भइरहेको संकेत गरेको अधिकारीहरूले बताएका छन्।

यसबीच कुवेतमा वैध बसोबास अनुमति लिएका विदेशी तथा अन्य बासिन्दाको संख्या उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ को अन्त्यसम्म वैध रेसिडेन्सी अनुमति ३१ लाख ६६ हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक लाख ४२ हजारले बढी हो। वार्षिक रूपमा यो वृद्धि करिब ४.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

कुवेतमा सबैभन्दा धेरै निजी क्षेत्रका श्रमिकको रेसिडेन्सी अनुमति रहेको छ। धारा १८ अन्तर्गत जारी निजी क्षेत्रका श्रम अनुमति १६ लाख ६० हजार पुगेका छन्, जसले कुल वैध रेसिडेन्सी अनुमतिको ५२.६ प्रतिशत हिस्सा ओगटेको छ। घरेलु कामदारका लागि जारी धारा २० अन्तर्गत ७ लाख ७३ हजार ३ सय अनुमति कायम छन् भने परिवार पुनर्मिलन (धारा २२) अन्तर्गत ५ लाख ६६ हजार ६ सय अनुमति सक्रिय रहेका छन्। सरकारी कर्मचारी, स्वतन्त्र व्यवसाय तथा लगानीसँग सम्बन्धित रेसिडेन्सी अनुमतिमा पनि वृद्धि भएको देखिएको छ।

सन् २०२५ मा रेसिडेन्सी रद्द हुने घटनामा भने कमी आएको छ। वर्षभरि ४७ हजार २ सय रेसिडेन्सी अनुमति रद्द गरिएका छन्, जुन सन् २०२४ को ४९ हजार ७ सयको तुलनामा करिब पाँच प्रतिशत कम हो। निजी क्षेत्रका श्रमिकको धारा १८ अन्तर्गतका अनुमति सबैभन्दा धेरै रद्द भएका छन्, जसको संख्या २३ हजार ४ सय रहेको छ। रद्द भएका अनुमतिमध्ये ठूलो हिस्सा गैर-अरब एसियाली नागरिकको रहेको तथ्यांकमा उल्लेख छ।

नयाँ रेसिडेन्सी उल्लंघनका घटनामध्ये पनि निजी क्षेत्रका श्रमिकको संख्या सबैभन्दा धेरै छ। धारा १८ अन्तर्गत ४ हजार ३ सय नयाँ उल्लंघन दर्ता भएका छन्, जुन कुल नयाँ उल्लंघनको ३६.१ प्रतिशत हो। अस्थायी रेसिडेन्सी (धारा १४) अन्तर्गत ४ हजार १ सय उल्लंघन भएका छन् भने घरेलु कामदार र परिवार पुनर्मिलन श्रेणीमा उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा घटेका छन्।

राष्ट्रियताका आधारमा हेर्दा गैर-अरब एसियाली नागरिकमा सबैभन्दा धेरै उल्लंघन देखिएको छ। उनीहरूको संख्या ७ हजार ३ सय रहेको छ, जुन कुल नयाँ उल्लंघनको ६१.६ प्रतिशत हो। त्यसपछि अरब मुलुकका नागरिक र गैर-अरब अफ्रिकी नागरिक रहेका छन्।

नेपाली श्रमिकका लागि यो तथ्यांक विशेष महत्वको मानिएको छ, किनभने कुवेत नेपालीहरूको प्रमुख रोजगारी गन्तव्यमध्ये एक हो। अध्यागमन तथा श्रम कानुनसम्बन्धी नियमहरू थप कडाइका साथ कार्यान्वयन भइरहेका बेला वैध रेसिडेन्सी, श्रम अनुमति र रोजगारदातासँग सम्बन्धित सबै प्रक्रिया समयमै पूरा गर्नु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। रेसिडेन्सीको अवधि सकिनु, रोजगारदाताको अनुमति नवीकरण नगर्नु वा कानुनी प्रक्रिया पालना नगर्नुले जरिवाना, पक्राउ, देशनिकाला तथा भविष्यमा कुवेत प्रवेशमा प्रतिबन्धसमेत लाग्न सक्ने भएकाले नेपाली श्रमिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।