अब विमानस्थलमा पिक एण्ड ड्रपका लागि पुग्ने सवारीसाधनले १० मिनेटसम्मको निशुल्क पार्किङ गर्न पाउने भएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पिकअप ड्रपका लागि आउजाउ गर्ने सवारी साधनलाई पार्किङ शुल्क नलिने गरि नयाँ कम्पनीसँग ठेक्का सम्झौताको तयारी गरेको छ । विमानस्थलका अनुसार पछिल्लो समय पार्किङको बिषयलाई लिएर यात्रुबाट गुनासो आएसँगै यात्रु लिन आउने र पुर्याउने सवारी साधनलाई १० मिनेटको निशुल्क पार्किङ गर्न लागिएको हो ।
यसरी तोकिएको निशुल्क पार्किङका कारण विमानस्थलको भिडमा पनि कमि हुने विमानस्थलको अपेक्षा छ । पार्किङको जिम्मा अब एयरपोर्ट सर्भिज प्रोभाइडर प्रालीले पाएको छ ।
यसअघि देशप्रेम प्रालि पार्किङको ठेक्का पाएको थियो । १० मिनेटभन्दा बढी समय पार्किङको लागि भने अब मोटरसाइकल लागि प्रति घण्टा ४० रुपैँया तोकिएको छ भने चारपाङ्ग्रेको लागि प्रति घण्टा ८० रुपैँया तोकिएको छ ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टर र हवाईजहाज मार्फत ४ सय बढी उडान अवतरण हुने गरेको छ । उता अन्तराष्ट्रिय तर्फ भने ११० उडान अवतरण हुँदै आएको छ । दुवै तर्फ गरेर करिब ३१ हजार यात्रुले हवाई सेवा लिँदै आएका छन् ।