रोयल्टी संकलन

वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ बढी रोयल्टी सङ्कलन

आप्रवासन आप्रवासन

यस वर्षको वसन्त ऋतुमा भएको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी भएको छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी संकलन गरिएको हो । सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट संकलन गरिएको छ ।

एक्लै सगरमाथाबाट मात्र रु ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको विभागले जनाएको छ । यो वसन्तमा सगरमाथालगायत २६ वटा हिमाल आरोहणका लागि ११९ समूहले अनुमति लिएका छन् ।

ती समूहमा २४० महिला र ८८७ पुरुष गरी कुल १,१२७ जना आरोही छन् । सगरमाथा आरोहणका लागि मात्र ५७ देशका ४५ समूहका ८४ महिला र ३७२ पुरुष गरी ४५६ जना आरोहीले अनुमति लिएका छन् ।

अन्य लोकप्रिय हिमालहरूमा पनि उल्लेखनीय संख्यामा आरोही आकर्षित भएका छन् । जस्तै: आमादब्लम: १० समूह, १०२ आरोही, ल्होत्से: ९ समूह, १०७ आरोही, मकालु: ८ समूह, ७९ आरोही, कञ्चनजङ्घा: ७ समूह, ७५ आरोही, नुस्से: ६ समूह, ७६ आरोही, अन्नपूर्ण: ६ समूह, ६६ आरोही

वसन्त ऋतुलाई सगरमाथासहितका हिमाल आरोहणका लागि उत्कृष्ट मौसम मानिन्छ । यही कारणले हरेक वर्ष यो समयमा विश्वभरबाट थुप्रै आरोही नेपाल आउँछन् । अझै पनि आरोहण अनुमति जारी रहेकाले कुल संख्यामा वृद्धि हुने विभागको अनुमान छ ।