नेपालमा हवाई उडान गर्दै आएका १० वटा विदेशी एयरलाइन्सले सरकारलाई करबापतको रकम नबुझाएको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार ती एयरलाइन्सले २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ कर तिर्न बाँकी रहेको हो ।
यसरी कर नतिर्नेमा साउदी उडान गर्ने एक, सिंगापुर उडान गर्ने एक र दुबई उडान गर्ने २ एयरलाइन्स छन् ।
यस्तै, कुवेत उडान गर्ने एक, भुटान उडान गर्ने २ र टर्की उडान गर्ने एक एयरलाइन्सले समेत कर तिर्न बाँकी छ ।
ओमान उडान गर्ने एक र मलेसिया उडान गर्ने २ वटा एयरलाइन्सले समेत कर दाखिला गरेका छैनन् ।
यसबाहेक, कर नबुझाउनेमा श्रीलङ्का उडान गर्ने एक र हङकङ उडान गर्ने एक विदेशी एयरलाइन्स छन् ।
कर नबुझाउने एयरलाइन्सको नाम भने सार्वजनिक गरिएको छैन ।
नेपालबाट प्रस्थान गर्ने यात्रुको ओसारपसार गर्दा विदेशी एयरलाइन्सलाई ५ प्रतिशत कर लाग्दै आएको छ। त्यसैले कर नबुझाउने एयरलाइन्सहरूबाट करबापतको शुल्क तथा त्यसको ब्याज असुल गर्नुपर्ने महालेखाको भनाई छ ।