नेपालको आन्तरिक हवाई बजारमा नयाँ वायुसेवा कम्पनी डाँफे एयरलाइन्स ले सेवा सञ्चालनको तयारी थालेको छ । आक्रामक बजार विस्तार रणनीतिसहित आएको कम्पनीले आगामी दशैंको अवसर पारेर असोजदेखि व्यावसायिक उडान सुरु गर्ने योजना बनाएको हो ।
सन् २०२३ मा मकालु एयर खरिद गरी नयाँ व्यवस्थापनमार्फत डाँफेले सेवा विस्तार गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट जहाज ल्याउन ‘नो अब्जेक्सन लेटर’ (NOC) प्राप्त गरिसकेको कम्पनीले अत्याधुनिक ATR 72-600 जहाज भित्र्याउने तयारी गरेको छ ।
कम्पनीका एकाउन्टेबल म्यानेजर क्याप्टेन कोषबहादुर थापाका अनुसार तीन वर्षभित्र ७ वटा एटीआर र ३ वटा जेटस्ट्रिम जहाजसहित १० जहाजको फ्लीट विस्तार गर्ने लक्ष्य लिइएको छ । जहाज खरिद, पाइलट तथा कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढिसकेको र दुई साताभित्र जहाज निरीक्षणका लागि टोली जाने तयारी रहेको समेत उहाँले बताउनु भएको छ।
डाँफेले भदौ १५ भित्रै आफ्नै ब्रान्डमा जहाज भित्र्याएर दशैंअघि तीनवटा जहाजमार्फत उडान सुरु गर्ने योजना बनाएको छ । कम्पनीले ल्याउने जहाजहरू आधुनिक ग्लास ककपिट प्रविधियुक्त हुने र यात्रुका लागि ८–१० वटा प्रिमियम सिटको सुविधा समेत उपलब्ध हुने बताइएको छ ।
कम्पनीले पोखरा लाई आधार विमानस्थल बनाएर प्रादेशिक कनेक्टिभिटीमा जोड दिने रणनीति लिएको छ । पोखराबाट महेन्द्रनगर, भद्रपुर, भरतपुर, भैरहवा र सिमरा लगायतका सहरमा सिधा उडान गर्ने योजना रहेको छ । साथै, काठमाडौंबाट पनि विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ।
डाँफेले छोटो धावनमार्ग भएका विमानस्थलका लागि जेटस्ट्रिम जहाज र अन्य गन्तव्यका लागि एटीआर जहाज प्रयोग गर्ने जनाएको छ । कम्पनीले काठमाडौंबाट माउन्टेन, तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भरतपुर, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा उडान गर्ने प्रस्ताव क्यानमा पेश गरेको छ ।
उड्डयन प्राधिकरणका अनुसार एनओसी पाएपछि एक वर्षभित्र जहाज भित्र्याउनुपर्ने प्रावधान रहेको छ । यस्तै डाँफेसँगै हेलि नेपाल र सगरमाथा हेलिकप्टर ले पनि एनओसी लिएका छन् । सगरमाथाले माउन्टेन हेलिकप्टर बाट एउटा हेलिकप्टर खरिद गरिसकेको र हाल नामसारी प्रक्रिया चलिरहेको छ ।