युएईमा गएको वैशाख महिनामा हरेक दिन एक भन्दा बढी नेपालीको ज्यान गएको पाइएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार २०८२ सालको पहिलो महिनामै युएईमा ३५ नेपालीको मृत्यु भएको हो ।
कार्यस्थल र सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट युएईमा ठुलो सङ्ख्यामा नेपालीको ज्यान गएको हो ।
युएईमा मृत्युवरण गरेका ती नेपालीको शव नेपाल पठाइसकिएको दूतावासले जनाएको छ ।
गत चैतमा समेत युएईमा १७ नेपालीको मृत्यु भएको थियो ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
गत आर्थिक वर्ष मात्रै १ हजार ३४६ नेपाली कामदारको विदेशमै मृत्यु भएको थियो । जसमध्ये युएईमा मात्र २३१ जनाले ज्यान गुमाएका थिए । त्यसअघिको वर्ष अर्थात् २०७९/८० मा पनि १६७ नेपालीले युएईमा मृत्युवरण गरेका थिए।
यसबाट युएई लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपालीले रेमिटेन्सका लागि चर्को मूल्य चुकाइरहेको देखिन्छ ।