ब्राेड पिकमा शव उद्धारको प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पतर्फ लैजाने योजना

आप्रवासन आप्रवासन

 

पाकिस्तानको ब्राेड पिकमा उद्धार तथा शव संकलनका लागि खटिएको नेपाली ग्राउन्ड टिमले हालको स्थानबाट टोलीलाई क्याम्प–१ सम्म ल्याउने तयारी गरेको छ। उद्धार स्थलबाट नेपाली पर्वतारोही मिग्मा डेभिड शेर्पाले दिएको जानकारीअनुसार टोलीलाई क्याम्प–१ सम्म ल्याएपछि भोलि जापानी क्याम्पतर्फ लैजाने योजना बनाइएको छ।

मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत उद्धारको सम्भावना रहेको शेर्पाले बताएका छन्। यद्यपि हेलिकोप्टर उद्धार मौसम र हिमालको अवस्थामै निर्भर रहनेछ। उद्धार अभियानको मुख्य उद्देश्य दिवङ्गत पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउनु रहेको शेर्पाले बताएका छन्। उद्धारमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा प्राथमिकतामा राखेर प्रत्येक निर्णय लिइरहेको उनले उल्लेख गरेका छन्।

यस कठिन उद्धार अभियानमा सहयोग र समन्वय गरिरहेका नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, नेपालस्थित पाकिस्तानी दूतावास, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा मृतकका परिवार, साथीभाइ र शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।

ब्राेड पिकमा भएको हिमपहिरोपछि नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरू प्रभावित भएका थिए। दुर्घटनापछि उद्धार तथा शव खोजीका लागि नेपाली पर्वतारोही र उद्धारकर्मीसमेत परिचालित छन्। अहिलेको अभियानमा प्रतिकूल मौसम, हिमालको जोखिमपूर्ण अवस्था र कठिन भूगोल प्रमुख चुनौती बनेका छन्।

शेर्पाले दिवङ्गत साथीहरूलाई सम्मानपूर्वक घर फर्काउने अभियानमा निरन्तर सहयोग, विश्वास र प्रार्थनाको आवश्यकता रहेको बताएका छन्। उनले उद्धारमा खटिएका सम्पूर्ण टोलीको सुरक्षित र सफल अभियानका लागि शुभेच्छुकहरूलाई प्रार्थना गरिदिन पनि आग्रह गरेका छन्।