बर्लिन भ्रमण

बर्लिन भ्रमणमा नयाँ अनुभव: संसद भवनबाट शहर अवलोकन

आप्रवासन आप्रवासन

विश्वका थोरै स्थानहरूमा यस्तो मौका मिल्छ, जहाँ शहरको अनुपम दृश्य अवलोकन गर्दै संसद बैठकलाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ।

जर्मनीको राजधानी बर्लिनस्थित राइषट्याग भवन (Reichstag Building) त्यही अनुपम स्थान हो, जसले इतिहास, आधुनिकता र लोकतन्त्रको अद्वितीय संगम दर्शाउँछ ।

यो भवन जर्मन संसदको तल्लो सदन बुन्डेसट्याग को स्थायी बैठकस्थल हो । यहाँ जनप्रतिनिधिहरूले देशका नीति र कानुन निर्माणमा छलफल गर्छन् ।

विशेष कुरा के छ भने सामान्य नागरिक वा पर्यटकले पनि यो संसद बैठकलाई प्रत्यक्ष अवलोकन गर्न सक्छन्, त्यो पनि भवनको माथिल्लो काँचको गुम्बजबाट ।

राइषट्यागको माथिल्लो भागमा रहेको ग्लास डोम केवल वास्तुकलाको चमत्कार होइन, जनताको आँखाबाट संसदमा के हुँदैछ भन्ने देखाउने पारदर्शी संयन्त्र पनि हो। यो गुम्बज संसदको हलको ठीक माथि रहेको छ, जहाँबाट पर्यटकहरूले तल सांसदहरू छलफल गरिरहेको प्रत्यक्ष रूपमा हेर्न सक्छन् ।

यससँगै, सोही स्थानबाट तपाईंले बर्लिन शहरको मनोरम दृश्य पनि अवलोकन गर्न सक्नुहुन्छ — टेलिभिजन टावरदेखि ब्रान्डेनबर्ग गेट, र स्प्री नदी किनाराका आधुनिक सरकारी भवनहरूसम्म ।

राइषट्यागमा सर्वसाधरणको भ्रमण अवसरसँगै भवनको सुरक्षा व्यवस्थालाई निकै महत्वपूर्ण मानिन्छ त्यसैले अग्रिम अनलाइन बुक गर्नुपर्ने हुन्छ ।

पर्यटकहरूका लागि विभिन्न प्याकेजहरू उपलब्ध छन् । टिकटको लागि https://www.bundestag.de/en/visittheBundestag/dome/registration-245686 वेभसाइट भिटिज गर्न सकिन्छ । भ्रमण र बैठक अवलोकनका लागि अग्रिम अनलाइन बुकिङ आवश्यक हुन्छ। तपाईंको योजना अनुसार गाइडेड वा स्वतन्त्र टुर रोज्न सकिन्छ।