मार्च महिनामा अमेरिकाको विद्यार्थी र भिजिटर भिसा पाउने नेपालीको सङ्ख्या घटको छ ।
अमेरिकाको ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार मार्च महिनामा विद्यार्थी र भिजिटर भिसा पाउने नेपालीको कुल सङ्ख्या २ हजार ३११ छ । जसमध्ये ७६१ जनाले विद्यार्थी र १ हजार ५५० जनाले भिजिटर भिसा पाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता पहिलो पटक भिसा पाउने नेपालीको सङ्ख्या घटेको हो ।
यसअघि विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या जनवरीमा ७५० र फेब्रुअरीमा ८०२ थियो । यस्तै, जनवरीमा २ हजार १५० र फेब्रुअरीमा १ हजार ८३८ नेपालीले भिजिटर भिसा पाएका थिए ।
आर्थिक वर्ष २०२४ मा पनि १३ हजार १८७ नेपालीले विद्यार्थी र २४ हजार ३०९ नेपालीले भिजिटर भिसा पाएका थिए ।
ट्रम्पले गत जनवरी २० मा शपथ लिएसँगै अन्य देशका नागरिकलाई दिइने भिसा घटिरहँदा नेपालीलाई प्रदान गरिएको भिसा दर भने बढेको थियो । तर मार्च महिनाबाट भने ट्रम्प नीतिको असर नेपालीलाई समेत पर्न थालेको देखिएको छ । जसको प्रत्यक्ष असर अमेरिका जाने तयारी गरिरहेका नेपाली विद्यार्थी र पर्यटकमा पर्ने देखिन्छ ।