चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि युएई पुगेका २६१ जना नेपालीले ज्यान गुमाएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि वैशाखसम्ममा ती नेपालीको मृत्यु भएको हो ।
जसमध्ये साउनमा ३०, भदौमा ३२, असोजमा ३३ र कात्तिकमा ३५ जनाको ज्यान गएको थियो । यस्तै, मंसिरमा २४, पुसमा १३ र माघमा २५ जनाले मृत्युवरण गरेका थिए । फागुनमा १७, चैतमा १७ र वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको थियो ।
तथ्याङ्कबाट हरेक महिना औसतमा २६ बढी नेपालीको युएईमा ज्यान गइरहेको देखिन्छ ।
सडक तथा कार्यस्थल दुर्घटना, आत्महत्या, हृदयाघात, मुटुसम्बन्धी रोग र प्राकृतिक कारणबाट युएईमा नेपालीको ज्यान जाने गरेको छ ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या समेत बढ्दै गएको छ । गत आर्थिक वर्ष मात्रै १ हजार ३४६ नेपाली कामदारको विदेशमै मृत्यु भएको थियो । जसमध्ये युएईमा मात्र २३१ जनाको ज्यान गुमाएका थिए । त्यसअघिको वर्ष अर्थात् २०७९/८० मा पनि युएईमा १६७ नेपालीको मृत्यु भएको थियो।