दुबईले शून्य ब्याजदरमा ‘अहिले भाडामा लिनुहोस्, पछि तिर्नुहोस्’ किस्ताबन्दी सेवा सुरु

आप्रवासन आप्रवासन

दुबईमा घरभाडा तिर्नेहरूका लागि नयाँ सुविधा ल्याउने तयारी गरिएको छ। दुबई ल्याण्ड डिपार्टमेन्ट (डीएलडी)ले स्थानीय बैंकसँगको सहकार्यमा ‘Rent Now, Pay Later’ अर्थात् अहिले भाडा लिने र पछि किस्तामा तिर्ने सेवा सुरु गर्ने तयारी गरेको हो। यो सेवा आगामी सेप्टेम्बरमा सुरु गर्ने योजना रहेको Gulf News ले जनाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार भाडामा बस्ने व्यक्तिले घर वा अपार्टमेन्ट छनोट गरेपछि सहभागी बैंकले घरधनीलाई एक वर्षको भाडा रकम अग्रिम रूपमा भुक्तानी गर्नेछ। त्यसपछि भाडामा बस्ने व्यक्तिले बैंकलाई उक्त रकम अधिकतम १२ महिनासम्मको किस्तामा ब्याज नलाग्ने गरी तिर्न सक्नेछन्।

यो व्यवस्थाले वर्षको ठूलो रकम एकैपटक भाडामा बुझाउनुपर्ने बाध्यता कम गर्ने र मासिक आम्दानीअनुसार भाडा व्यवस्थापन गर्न सहज बनाउने उद्देश्य राखेको छ। डीएलडी र स्थानीय बैंकबीच विकसित भइरहेको यो योजनाले दुबईका बासिन्दाका लागि घरभाडा भुक्तानीमा थप लचकता ल्याउने अपेक्षा गरिएको छ।

तर, सेवा अहिले नै सञ्चालनमा आइसकेको भने होइन। यसको अन्तिम कार्यविधि अझै तयार भइरहेको छ। सेवा लिन पाउने व्यक्तिको योग्यता, आवेदन प्रक्रिया, बैंकले उपलब्ध गराउने वित्तीय सुविधा, किस्ता भुक्तानी तथा घरधनी–भाडावाला–बैंकबीचको सम्बन्धबारे विस्तृत नियम सेवा औपचारिक रूपमा सुरु भएपछि सार्वजनिक गरिने बताइएको छ।

नयाँ योजना दुबई ल्याण्ड डिपार्टमेन्टले यसअघि जुन २३ मा सुरु गरेको ‘Flexi Rent’ पहलको विस्तारका रूपमा आएको हो। ‘Flexi Rent’ अन्तर्गत सहभागी सम्पत्ति तथा व्यवस्थापन कम्पनीमार्फत भाडावालाले मासिक, त्रैमासिक र अर्धवार्षिक किस्तामा भाडा तिर्न सक्ने विकल्प पाएका छन्।

डीएलडीका अनुसार ‘Flexi Rent’ को उद्देश्य भाडा भुक्तानीलाई थप लचिलो बनाउनु, आवासमा पहुँच सहज गर्नु र भाडा बजारलाई स्थिर तथा दिगो बनाउनु हो।

प्रस्तावित ‘Rent Now, Pay Later’ योजना अन्तिम स्वरूपमा लागू भए दुबई यस्तो प्रणालीलाई आफ्नो भाडा बजारमा एकीकृत रूपमा लागू गर्ने विश्वकै पहिलो सहर बन्न सक्ने Gulf News को रिपोर्टमा उल्लेख छ।

यूएईमा बसोबास गर्ने नेपालीसहितका आप्रवासीका लागि पनि यो व्यवस्था चासोको विषय बन्न सक्छ। तर सेवा सुरु नभएसम्म यसको योग्यता र सर्तबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी रहेकाले हाललाई घोषणामा आएका विवरणलाई मात्रै आधार मान्नुपर्ने हुन्छ।