पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिब ६ करोड रुपैयाँ बराबरको लगानीमा सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (हरि) सिटौलाले नयाँ बसको शुभारम्भ गरेका हुन् ।
कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलनटोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ। आगामी भदौ ३ गतेदेखि आधिकारिक रूपमा सेवा प्रारम्भ हुने कम्पनीका अध्यक्ष टीकाराम अधिकारीले जानकारी दिएका छन् । नयाँ बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय, चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ। गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धतासमेत अधिकारीले व्यक्त गरेका छन्।
अध्यक्ष अधिकारीले भनेका छन्, ‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ।’ उद्घाटन कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौँका लागि सुरु भएको यो सेवा नेपालकै मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे । प्रतिसवारी साधन करिब २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए । अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासङ्घले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको उनले बताए।
अध्यक्ष सिटौलाले भनेका छन्, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ। सङ्घीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ। अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ।’ उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। साथै, सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न प्रहरी सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।