चिनियाँ विद्यार्थीप्रति अमेरिका आक्रामक

चिनियाँ विद्यार्थीप्रति अमेरिका आक्रामक, भिसा खारेज गरिने

आप्रवासन आप्रवासन

अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीप्रति अमेरिकाले आक्रामक रवैया अपनाउने भएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा खारेज गर्न सुरु गर्ने बताएका छन् । रुबियोले चीन र हङकङबाट आउने सबै भविष्यका भिसा आवेदनहरूको जाँचलाई कडा गर्ने गरी भिसा सर्तहरू संशोधन गर्ने बताएका हुन् ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा संवेदनशील क्षेत्रहरूमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने योजना समेत बनाइएको छ।

यसले अमेरिकी विश्वविद्यालय र चिनियाँ विद्यार्थीहरूलाई सिधा असर गर्ने देखिन्छ । अमेरिकामा रहेका कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये एक चौथाइ हिस्सा चिनियाँहरूको छ ।

अमेरिकामा ११ लाख २६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन् । जसमा चिनियाँ विद्यार्थीको सङ्ख्या २ लाख ७५ हजार बढी छ ।

यस्तोमा आगामी दिनमा अमेरिकामा चिनियाँ विद्यार्थीले थप कठिनाइ बेहोर्नु पर्ने हुन सक्छ । 

आप्रवासीप्रति निकै आक्रामक नीति अपनाइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ध्यान बिस्तारै अन्तर्राष्ट्रिय विद्यार्थीतर्फ मोडिन थालेको छ । गत सोमबारबाट मात्रै संसारभरिका अमेरिकी नियोगहरूमा विद्यार्थी भिसाको नयाँ अपोइन्टमेन्ट बन्द गरिएको छ ।