साउदी अरबले ८१ जना नेपाली कामदारलाई एक्जिट भिसा प्रदान गरेको छ । साउदीस्थित नेपाली दूतावासको समन्वयमा विभिन्न कानुनी अड्चनमा फसेका नेपालीहरूलाई साउदीले घर फर्कन पाउने गरी एक्जिट भिसा दिएको हो ।
यसरी एक्जिट भिसा पाउनेमा ३२ जना हुरुब लागेको थियो भने ४२ जनाको साउदी आवासीय अनुमति पत्र, इकामा नभएको वा म्याद सकिएको थियो ।
इकामा नहुनु वा हुरूब भुक्तान नगर्नुलाई साउदीमा गैर कानुनी मानिन्छ । जसले गर्दा त्यस्तो अवस्थाका आप्रवासीले साउदीमा सजाय कटाउनु पर्ने हुन्छ । यस्तो अवस्थाका आप्रवासीलाई स्वदेश फर्कन साउदीले एक्जिट भिसा प्रदान गरेको हुनु पर्दछ ।
एक्जिट भिसा नभएसम्म आप्रवासी स्वदेश फर्कन पाउँदैनन् । एक्जिट भिसा लागेको खण्डमा पनि ६० दिनभित्र साउदी छोड्नुपर्ने हुन्छ ।
एक्जिट भिसा पाएसँगै अब उनीहरू नेपाल फर्कन पाउने छन् भने केही भने फर्किसकेका छन् ।
दूतावासमार्फत एक्जिट भिसाको प्रक्रिया निःशुल्क रूपमा हुन्छ । तर हवाई टिकट भने व्यक्ति स्वयंले काट्नु पर्ने हुन्छ ।