ओमान सरकारले विदेशी नागरिकहरूका लागि दीर्घकालीन बसोबास, व्यापार र लगानीलाई प्रोत्साहन गर्न ‘गोल्डेन भिसा’ योजना सुरु गरेको छ। यो भिसा अन्तर्गत योग्य विदेशी नागरिकहरूलाई ५ वर्षदेखि १० वर्षसम्म ओमानमा बसोबास र काम गर्ने अनुमति दिइनेछ ।
गोल्डेन भिसा विशेषगरी ओमानमा लगानी गर्न चाहने व्यक्ति, उच्च पेशागत दक्षता भएका विज्ञहरू, व्यवसायी, र अनुसन्धानकर्ता लगायतका योग्यताप्राप्त व्यक्तिहरूलाई लक्षित गरी जारी गरिने ओमान सरकारको नीति हो । ओमानमा हाल हजारौं नेपालीहरू विभिन्न क्षेत्रमा कार्यरत छन्। व्यवसाय वा पेशागत दक्षता भएका नेपाली नागरिकले यो योजनाबाट लाभ उठाउन सक्नेछन् ।
ओमानमा दीर्घकालीन रूपमा बस्न वा लगानी गर्न चाहने नेपालीका लागि यो योजना एक सुनौलो अवसर हुन सक्छ ।
आउनुहोस्, बुझै गोल्डेन भिसाको प्रक्रिया र प्रकारबारे ।
ओमानको गोल्डेन भिसा दुई वर्गमा विभाजित गरिएको छ । पहिलो १० वर्षे गोल्डेन भिसा, १० बर्षे भिसाको लागि कम्तीमा पाँच लाख ओमानी रियाल बराबरको लगानी गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ ।
दोस्रो ५ वर्षे गोल्डेन भिसा, यसमा कम्तीमा दुई लाख ५० हजार ओमानी रियाल लगानी गर्ने वा विशेष दक्षता भएका पेशेवरहरूका तोकिएको छ ।
गोल्डेन भिसा प्राप्त गर्नेले ओमानमा स्वतन्त्र रूपमा बस्न, काम गर्न, व्यापार सञ्चालन गर्न, सम्पत्ति खरिद गर्न र परिवारका सदस्यलाई समेत साथमा राख्न पाउनेछन् । साथै, सरकारी सेवा प्रक्रियामा प्राथमिकता तथा नागरिकता प्राप्तिका सम्भावना समेत यस योजनामा समावेश गरिएको छ ।
गोल्डेन भिसाका लागि इच्छुक व्यक्तिले ओमान सरकारको Invest Easy Portal www.business.gov.om मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । पासपोर्ट, लगानी विवरण, बैंक स्टेटमेन्टलगायत आवश्यक कागजात अपलोड गर्नुपर्नेछ।
मूल्यांकनपछि योग्यता पुगेकालाई भिसा स्वीकृत गरिनेछ । ओमान सरकारले यो योजना मार्फत देशको आर्थिक वृद्धि, व्यवसायिक वातावरण विस्तार र दक्ष जनशक्ति भित्र्याउने लक्ष्य राखेको जनाएको छ ।