नेपाल एयरलाइन्सको कमाइ

१० महिनामा एक अर्बले घट्यो नेपाल एयरलाइन्सको कमाइ

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्षको १० महिनामा नेपाल वायुसेवा निगमको आम्दानी १ अर्ब बढीले घटेको छ । निगमले गएको साउनदेखि वैशाखसम्मको अवधिमा १ अर्ब ३७ करोडले कमाइ घटेको जनाएको हो ।

यस अवधिमा निगमले ११ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा निगमको आम्दानी १३ अर्ब १३ करोड रुपैयाँ थियो ।

यो आम्दानी निगमको यात्रु टिकट र यात्रुको कार्गो सेवाबाट भएको हो ।

यात्रुको सङ्ख्या घट्दा आम्दानी समेत घटेको हो । यस अवधिमा ४ लाख ४९ हजार यात्रुले निगमको जहाजमार्फत उडान गरेका छन् । जबकि, अघिल्लो आर्थिक वर्षको १० महिनामा ५ लाख ११ हजार यात्रुले निगमको जहाजमार्फत यात्रा गरेका थिए ।

यो वर्ष निगमको वाइड बडी र न्यारोबडी पालैपालो मर्मतका लागि इटली गएको र लामो समय उतै थन्किएको थियो । यस्तै, २ महिनाभन्दा बढी समय आन्तरिक उडान समेत ठप्प थियो । जसले गर्दा दसैँ तिहार जस्ता कमाइ हुने मुख्य सिजनमा समेत उडान रोकिएको । यसले गर्दा आम्दानी समेत घट्न पुगेको निगमको तर्क छ । तर निगममा कमजोर नेतृत्व र व्यवस्थापन हुँदा नाफामा जानुपर्ने निगम सधैँ घाटामा चलिरहेको हो ।