पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले पोखराबाट दुबईका लागि हुने अन्तर्राष्ट्रिय उडानबारे युएईका राजदूत अब्दुल्लाह साइद मुवारक जरवान अलसाम्सीसँग भेटेर छलफल गरेका छन् । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी सहितको टोलीले राजदूत अलसाम्सीसँग भेटेका हुन् ।
पोखराबाट दुबईको हुने नियमित उडान समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि भएको व्यवसायीहरूले बताएका छन् । यसलाई सफल र दीगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए
छलफलका क्रममा दुबई जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रियालाई तत्काल हटाउन सम्भव नभएपनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन आग्रह गरेका थिए ।
यस विषयमा महामहिम राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको श्रेष्ठले जानकारी दिए । पोखरा–दुबई उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।