अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भिसा सम्बन्धी नीतिको असर नेपाली विद्यार्थीमा समेत पर्न थालेको छ । ट्रम्पले प्रशासन सम्हालेको तेस्रो महिनाबाट विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या घट्दै गएको हो ।
अमेरिकाको ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार गएको अप्रिलमा ७०१ जना नेपालीलाई विद्यार्थी भिसा दिइएको छ । यस्तै, उनीहरूका ४७ जना डिपेन्डेन्टहरुले पनि अप्रिलमा एफ टु श्रेणीको भिसा पाएका छन् ।
मार्च महिनाको तुलनामा अप्रिलमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या ६० ले कम भएको हो । मार्चमा ७६१ जना नेपालीले विद्यार्थी भिसा थिए । यस्तै, उनीहरूका ३६ जना डिपेन्डेन्टहरुले पनि मार्चमा एफ टु श्रेणीको भिसा पाएका थिए ।
ट्रम्पले गत जनवरी २० मा शपथ लिएसँगै अन्य देशका विद्यार्थीलाई दिइने भिसा घटिरहँदा नेपालीलाई प्रदान गरिएको भिसा दर भने बढेको थियो । जस अनुरूप जनवरीमा ७५० र फेब्रुअरीमा ८०२ नेपालीले विद्यार्थी भिसा पाएका थिए ।
तर मार्च महिनाबाट भने ट्रम्प नीतिको असर नेपालीलाई समेत पर्न थालेको देखिएको छ । यसले गर्दा अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई भिसा लगाउन थप मुस्किल पर्ने देखिन्छ ।