नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनको भ्वाइस कल निःशुल्क गर्ने भएको छ।
टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएससमेत निःशुल्क पाउनेछन्।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेत गराइरहेको छ। साथै, सेवाग्राहीलाई आवश्यक सूचना प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको जनाएको छ।
बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण टेलिकमले दिएको छ। गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेको छ।
क्षतिग्रस्त संरचना मर्मत तथा सञ्चार सेवा नियमित बनाउन नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको जनाएको छ।