रसुवा बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित र निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दिएको प्रारम्भिक विवरण अनुसार बाढीबाट ७५३ मेगावाट क्षमताका आयोजनाहरू प्रभावित भएका छन् ।
क्षति पुगेका आयोजनाहरूमध्ये ३५९ मेगावाट क्षमताका १० वटा सञ्चालनमा रहेका आयोजना छन् भने ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजनाहरू रहेका छन् ।
रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरू बाढीको चपेटामा परेका छन् । विवरण अनुसार सञ्चालनमा रहेका ५ वटा आयोजना २३६ मेगावाट र निर्माणाधीन ३ वटा आयोजना कुल ३४२ मेगावाटमा क्षति पुगेको छ ।
सञ्चालनमा रहेका आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ खोला (२० मेगावाट०) र मैलुङ खोला (५ मेगावाट) छन् । निर्माणाधीन आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा–भोटेकोसी (१२० मेगावाट) र माथिल्लो मेलुङ–ए (६.४२ मेगावाट) रहेको इप्पानले जनाएको छ ।
नुवाकोटमा ७ आयोजनामा क्षति
नुवाकोट जिल्लामा पनि बाढीले ७ वटा आयोजनामा असर पुर्याएको छ । जसमा सञ्चालनमा रहेका ५ आयोजना (१२३ मेगावाट) र निर्माणाधीन २ आयोजना (५२.६ मेगावाट) रहेका छन् । सञ्चालनमा रहेका आयोजनाहरूमा माथिल्लो त्रिशूली–३ए (६० मेगावाट), सोलार आयोजना (२५ मेगावाट), त्रिशूली जलविद्युत् (२४ मेगावाट) र देवीघाट जलविद्युत् (१४.१ मेगावाट) छन् । त्यस्तै निर्माणाधीन आयोजनाहरूमा माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट) र मिडिल त्रिशूली गंगा (१५.६ मेगावाट) रहेका छन् ।
बाढीका कारण यी आयोजनाहरूको भौतिक संरचनामा क्षति पुग्नुका साथै विद्युत् उत्पादन र प्रसारणमा समेत अवरोध सिर्जना भएको छ ।
क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको र आयोजनाहरू पुनः सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ ।