कुवेतमा झन्डा प्रदर्शन

कुवेतमा नेपालीसहित विदेशी झन्डा प्रदर्शनमा प्रतिबन्ध

आप्रवासन आप्रवासन

कुवेत सरकारले नेपालीसहित विदेशी झन्डा वा चिन्ह प्रदर्शनमा रोक लगाएको छ । कुवेत सरकारले डिक्रि कानुन ७३ लाई संशोधन गर्दै विदेशी झन्डा तथा धार्मिक, सामाजिक र जातीय चिन्ह प्रयोग गर्न प्रतिबन्ध लगाएको कुवेती पत्रिका अरब टाइम्सले जनाएको हो ।

यो व्यवस्थासँगै अब कुवेतको सीमा भित्र कुनै पनि विदेशी नागरिकले आफ्नो देशको स्वतन्त्रता वा राष्ट्रिय दिवस, सार्वजनिक कार्यक्रम वा समारोहमा झन्डा प्रयोग गर्न पाउने छैनन् । अब कुवेतमा रहेका नेपालीले पनि कार्यक्रम, दिवस वा अन्य समारोहमा नेपाली झन्डा फहराउन वा प्रयोग गर्न पाउने छैनन् ।

यो कार्य प्राइभेट बिल्डिङ भित्र र विज्ञापन गर्दा समेत लागु हुने जनाइएको छ ।

त्यस्ता समारोहमा झन्डा फहराउनु परे गृह मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने छ । स्वीकृति पाएको खण्डमा मात्रै त्यसो गर्न पाइने व्यवस्था गरिएको छ ।

यद्यपि, सार्वजनिक खेलकुदको कार्यक्रममा भने झन्डाको प्रयोग गर्न दिइएको छ ।

यदि कसैले नयाँ व्यवस्थाको उलङ्घन गरेको पाइएमा कडा जरिवाना र जेल सजाय तोकिएको छ । जसमा ३ सयदेखि १० हजार कुवती दिनारसम्म जरिवाना र ६ महिनादेखि ३ वर्षसम्म जेल सजाय हुने छ ।

कुवेत सरकारले राष्ट्रिय सुरक्षालाई अक्षुण्ण राख्न यो व्यवस्था गरिएको तर्क गरेको छ ।

त्यसैले कुवेतमा रहेका नेपालीहरूले नयाँ कानुनका बारेमा सचेत हुनुपर्ने छ ।

कुवेतमा करिब एक लाख नेपाली कार्यरत छन् ।