कुवेतमा रहेका नेपालीसहितका आप्रवासी कामदारले एक्जिट पर्मिटबिना अब कुवेत छाड्न नपाउने भएका छन् । कुवेतको गृह मन्त्रालयले निजी क्षेत्रमा काम गर्ने आप्रवासी कामदारलाई स्वदेश फर्कन एक्जिट पर्मिट अनिवार्य गरेको हो ।
योसँगै अब बिदामा घर फर्कने वा सम्झौता सकिएर स्वदेश फर्कने नेपाली कामदारले अनिवार्य रूपमा रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने भएको छ । नयाँ व्यवस्थाले पूर्व सूचनाबिना कम्पनी छोड्ने क्रम निरुत्साहित गर्ने मन्त्रालयको भनाई छ । यस्तै, यसले कामदार र रोजगारदाता दुवैको अधिकारको रक्षा गर्ने समेत दाबी गरिएको छ ।
एक्जिट पर्मिटका लागि साहेल एप (Sahel APP) वा पब्लिक अथोरिटी अफ म्यानपावरको (Public Authority of Manpower) वेबसाइट www.manpower.gov.kw मार्फत आवेदन दिन सकिने छ । आवेदनमा कामदारको व्यक्तिगत विवरण, यात्राको मिति, यात्राको माध्यम जस्ता विवरण भर्नुपर्ने छ ।
यो व्यवस्था आउँदो जुलाई १ देखि लागू हुने छ । त्यसैले नयाँ व्यवस्था बारे कुवेतमा रहेका नेपालीहरू सचेत हुन जरुरी छ । कुवेतमा करिब एक लाख नेपाली कार्यरत छन् ।