जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि गर्ने व्यक्ति र विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार एवं फरार प्रतिवादीसम्म छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज ६ गतेदेखि असोज ७ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा अदालतको फैसला कार्यान्वयनतर्फ १९ जना पक्राउ परेका छन् । उनीहरूबाट ३८ लाख ९१ हजार ५७५ रुपैयाँ जरिवाना तथा ३ वर्ष ६ महिना २ दिन कैद असुलउपर गर्नुपर्ने देखिएको छ । यस्तै, चालु मुद्दाका फरार प्रतिवादीतर्फ ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार फरार कैदीबन्दी तथा थुनुवातर्फ १ जना पक्राउ परेका छन् ।
स्विप अपरेसनअन्तर्गत पक्राउ परेका १२१ जनामध्ये १०५ जना पुरुष, १५ जना महिला र १ जना अन्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरले आफ्नो टोल तथा छिमेकमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति, अदालतबाट कसुरदार ठहर भएका व्यक्ति वा विभिन्न मुद्दाका फरार प्रतिवादी लुकिछिपी बसेको जानकारी भए प्रहरीको निःशुल्क हटलाइन नम्बर १०० मा सूचना दिन आग्रह गरेको छ ।