साउदी एक्जिट भिसा

१० महिनामा साउदीले दियो १६०० नेपालीलाई एक्जिट भिसा

आप्रवासन आप्रवासन

साउदी अरबले चालु आर्थिक वर्षको १० महिना एक हजार ६ सय बढी नेपालीलाई एक्जिट भिसा दिएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा १ हजार ६५८ नेपालीले घर फर्कन पाउने एक्जिट भिसा पाएका हुन् ।

एक्जिट भिसा पाउनेमा इकामाको म्याद सकिएका १ हजार २८६ र हुरुब लागेका ३७२ जना नेपाली छन् ।

इकामा नहुनु वा हुरूब भुक्तान नगर्नुलाई साउदीमा गैर कानुनी मानिन्छ । जसले गर्दा ती नेपालीहरु साउदीमा गैर कानुनी हैसियतमा र सजाय कटाउनु पर्ने अवस्थाा थिए ।

दूतावासको पहलमा ती नेपालीलाई साउदीले बिना सजाय घर फर्कन दिएको हो । एक्जिट भिसा नभएसम्म त्यस्तो अवस्थामा रहेका नेपालीसहितका आप्रवासीले स्वदेश फर्कन पाउँदैनन् ।

एक्जिट भिसा लागेको खण्डमा पनि ६० दिनभित्र साउदी छोड्नुपर्ने हुन्छ । दूतावासमार्फत एक्जिट भिसाको प्रक्रिया निःशुल्क रूपमा हुन्छ ।

तर हवाई टिकट भने व्यक्ति स्वयंले काट्नु पर्ने हुन्छ । साउदीमा करिब ४ लाख नेपाली कार्यरत छन् । यद्यपि, कति नेपाली गैर कानुनी हैसियतमा छन् भन्ने यकिन छैन् ।