दुबईमा उत्कृष्ट शिक्षकलाई गोल्डेन भिसा, ८३५ भन्दा बढीले दिए आवेदन

आप्रवासन आप्रवासन

दुबईले विश्व शिक्षक दिवसको अवसर पारेर निजी शैक्षिक संस्थामा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका शिक्षक तथा शिक्षाकर्मीलाई गोल्डेन भिसा प्रदान गरेको छ।

दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तुमको निर्देशनमा प्रारम्भिक बाल शिक्षा केन्द्र, विद्यालय तथा उच्च शिक्षा संस्थामा कार्यरत उत्कृष्ट शिक्षाकर्मीलाई दीर्घकालीन बसोबास अनुमति अर्थात् गोल्डेन भिसा प्रदान गरिएको हो।

विश्व शिक्षक दिवसको अवसरमा घोषणा गरिएको यो पहलले विद्यार्थीको सिकाइ र विकासमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गर्नुका साथै दुबईको निजी शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ। यस कार्यक्रममार्फत उत्कृष्ट शिक्षकलाई दुबईमा दीर्घकालीन रूपमा बस्न प्रोत्साहन गर्दै शिक्षाको क्षेत्रमा दक्ष र प्रतिभाशाली जनशक्ति आकर्षित तथा कायम राख्ने लक्ष्य लिइएको छ।

दुबईको ‘एजुकेसन ३३’ रणनीतिसँग जोडिएको यो कार्यक्रमले विद्यार्थीको सिकाइ अनुभव सुधार गर्ने, शिक्षाको गुणस्तर बढाउने तथा दुबईलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा शिक्षा क्षेत्रको प्रतिस्पर्धी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। शिक्षाकर्मीलाई भविष्य निर्माणका महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र योगदानलाई प्रोत्साहन गर्ने नीति पनि यसमा समेटिएको छ।

शिक्षकका लागि गोल्डेन भिसा प्रदान गर्ने यो पहल सन् २०२४ अक्टोबर ५ मा सुरु गरिएको थियो। सुरु भएयता ८३५ भन्दा बढी शिक्षाकर्मीले यसका लागि आवेदन दिएका छन्। आवेदन परेकामध्ये योग्य उम्मेदवार छनोट गर्दा शैक्षिक योग्यता, उल्लेखनीय उपलब्धि, शिक्षा क्षेत्र तथा समुदायमा पुर्‍याएको योगदान र विद्यार्थी तथा अभिभावकबाट प्राप्त सकारात्मक प्रतिक्रियालगायतका आधारलाई मूल्यांकनमा समेटिएको छ।

गोल्डेन भिसाका लागि दुबईका निजी प्रारम्भिक बाल शिक्षा केन्द्र, विद्यालय तथा उच्च शिक्षा संस्थामा कार्यरत शिक्षाकर्मी योग्य हुने व्यवस्था छ। उनीहरूले शैक्षिक उपलब्धि वा शिक्षण क्षेत्रमा सिर्जनात्मक योगदान, शिक्षाको गुणस्तर सुधारमा प्रमाणित भूमिका तथा विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव देखाउनुपर्ने हुन्छ। विद्यार्थीको शैक्षिक प्रगति र मान्यता प्राप्त योग्यताको उपलब्धिमा पुर्‍याएको योगदानलाई पनि छनोटको महत्वपूर्ण आधार बनाइएको छ।

दुबईले शिक्षक तथा शिक्षाकर्मीलाई गोल्डेन भिसामार्फत सम्मान गर्ने यो कार्यक्रमलाई शिक्षा क्षेत्रमा प्रतिभा आकर्षित गर्ने दीर्घकालीन नीतिको हिस्सा बनाएको छ। यसबाट उत्कृष्ट प्रदर्शन गर्ने निजी क्षेत्रका शिक्षक तथा शिक्षाकर्मीलाई दुबईमै आफ्नो पेशागत यात्रा अघि बढाउन थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

यो समाचारको मूल स्रोत गल्फ न्युज हो।