पोखरा । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय तालिका हेरफेर गरेको छ । विश्वभर विन्टर शेड्युल कार्यान्वयनमा आएकाले फ्लाइदुबईले पोखराको उडान समय ५० मिनेट पछि सारेको हो ।
नयाँ तालिका अनुसार दुबईबाट आउने फ्लाइ दुबईको विमान अब बेलुका ७ः०५ देखि ७ः१० बजेको समयमा पोखरामा अवतरण गर्नेछ । यस्तै, ८ः०५ देखि ८ः१० बजे पोखराबाट यात्रु लिएर प्रस्थान गर्नेछ । यसअघि फ्लाइदुबईको विमान बेलुका ६ः१५ बजे पोखरा अवतरण भई ७ः१५ बजे दुबईका लागि उड्ने गर्दथ्यो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार नयाँ समय तालिका अनुसार रात्रिकालीन उडान र अवतरणका सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेका छन् । विमानस्थलले यात्रुहरूलाई परिमार्जित समय अनुसार नै विमानस्थल आइपुग्न सूचित गरेको छ ।
फ्लाइ दुबईले पोखराबाट सुरु गरेको नियमित अन्तर्राष्ट्रिय उडानको एक महिना पनि पूरा भएको छ । गत असोज ७ गतेदेखि सुरु भएको यो सेवामार्फत पहिलो महिनामा ३० वटा उडानबाट ६ हजार ३ सय ६२ जना यात्रुले ओहोरदोहोर गरेका छन् ।
विमानस्थल कार्यालयका अनुसार दुबईबाट पोखरा आउने यात्रुको संख्या ४ हजार ५ सय २१ र पोखराबाट दुबई जानेको संख्या १ हजार ८ सय ४१ छ । दशैँ र तिहारका कारण नेपाल फर्कने यात्रुको चाप उच्च देखिएको हो । निरौलाले पहिलो महिनाको नतिजा निकै उत्साहजनक रहेको र सरकारी तथा निजी क्षेत्र मिलेर प्रवद्र्धन गरेमा यो सेवा दीर्घकालीन हुने बताए ।
पोखरा–दुबई रुटलाई निरन्तरता दिँदै फ्लाइ दुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरिसकेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो महिनाको उपलब्धिलाई सकारात्मक भन्दै अब पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन् ।
फ्लाइदुबई र उसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३ सयभन्दा बढी गन्तव्यमा जोडिन सकिने भन्दै आचार्यले गण्डकी प्रदेशका बासिन्दा, पर्यटन व्यवसायी तथा उद्योगीहरूलाई पोखराकै विमानस्थललाई प्रस्थान बिन्दु बनाउन अपिल गरेका छन् ।
२०७९ पुस १७ गते उद्घाटन भए पनि लामो समय आन्तरिक उडानमै सीमित पोखरा विमानस्थलमा फ्लाइदुबईको नियमित उडानले क्षेत्रीय पर्यटन, व्यापार र आर्थिक विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।