एआईका कारण आफ्नो कामको महत्त्व घट्दै गएको र रोजगारीमा असुरक्षा बढेको महसुस गर्दै फ्रान्सका युवाहरू परम्परागत सीप र हातले गरिने पेसातर्फ आकर्षित हुन थालेका छन् ।
प्रविधिको तीव्र विकाससँगै कार्यालयमा कम्प्युटरको पर्दाअगाडि बसेर गरिने काम छाड्दै उनीहरू बेकरी, टायल जडान, इम्बोइडरी कला, काठको काम र हस्तकलाजस्ता क्षेत्रमा नयाँ भविष्य खोजिरहेका छन् ।
एक रिपोर्टअनुसार, जेनेरेटिभ एआईको प्रयोग व्यापक बन्दै जाँदा केही युवा पेसाकर्मीले आफ्नो करिअर नै परिवर्तन गर्ने निर्णय गरेका छन् । उनीहरूका लागि हातले सिर्जना गर्ने काम आम्दानीको स्रोत मात्र नभई आत्मसन्तुष्टि, मानवीय सम्बन्ध र कामको वास्तविक अर्थ खोज्ने माध्यम बनेको छ ।
२४ वर्षीया अपोलिन जुड यसको एउटा उदाहरण हुन् । कानुन र सञ्चार विषय अध्ययन गरेकी उनले पेरिसको एक कानुनी फर्ममा इन्टर्नसिप गर्दा च्याटजीपीटी प्रयोग गरेर लेख तयार गर्नुपर्ने भएपछि आफ्नो पेसाप्रति असन्तुष्टि महसुस गरिन् । त्यसपछि उनले पेस्ट्री बनाउने तालिम लिइन् र सन् २०२६ को जुनमा व्यावसायिक प्रमाणपत्र प्राप्त गरिन् ।
सेप्टेम्बरमा उनी पेरिसको पश्चिमी उपनगर पुटोस्थित एक पेस्ट्री पसलमा स्थायी कर्मचारीका रूपमा काम गर्न थालिन् । त्यहाँ उनी केक र टार्ट बनाउँछिन् ।
उनले मासिक १ हजार ६८९ युरो खुद आम्दानी गर्छिन्, जुन फ्रान्सको ३९ घण्टा साप्ताहिक कामका लागि निर्धारित न्यूनतम मासिक पारिश्रमिक हो । कानुन व्यवसायमा प्रवेश गरेको भए बढी कमाउन सक्ने भए पनि अहिले काममा जान र दिनको अन्त्यमा घर फर्किन आफू खुसी हुने उनले बताएकी छन् ।
उनका लागि कम्प्युटरबिना काम गर्न पाउनु र तत्काल एआईबाट विस्थापित हुने जोखिम कम भएको महसुस गर्नु सुरक्षाको एउटा घेरा बनेको छ ।
सन् २०२२ को अन्त्यतिर जेनेरेटिभ एआई सार्वजनिक प्रयोगमा आएपछि यसको कार्यस्थलमा प्रयोग तीव्र रूपमा बढेको छ । तर खाना बनाउने र अन्य व्यावहारिक सीपमा आधारित पेसा तुलनात्मक रूपमा स्वचालनको प्रभावबाट जोगिएका छन् ।
लिंक्डइन र सेन्ससवाइडले सन् २०२५ डिसेम्बरमा सार्वजनिक गरेको अध्ययनअनुसार, १८ देखि २८ वर्ष उमेर समूहका करिब ६३ प्रतिशतले कार्यालयमा काम गर्नुभन्दा हातले काम गर्नुपर्ने पेसा रोज्ने बताएका थिए । सबै उमेर समूहमा यस्तो धारणा राख्नेको अनुपात ५२ प्रतिशत थियो । त्यस्तै, ६५ प्रतिशतले प्राविधिक तथा हातले गरिने काममा बढी अर्थ र सन्तुष्टि हुने विश्वास व्यक्त गरेका थिए ।
करिअर छाडेर हस्तकलामा
३३ वर्षीया हर्मिनले पनि सञ्चार क्षेत्रको जागिर छाडेर टायल जडान र मोजाइक कलाको तालिम लिन थालेकी छन् । सांस्कृतिक मध्यस्थतामा स्नातकोत्तर गरेकी उनले सरकारी संस्थामा सञ्चार अधिकारी तथा ग्राफिक डिजाइनरका रूपमा काम गरेकी थिइन् ।
छ वर्षसम्म कामको तनाव झेलेपछि र थप दुई वर्ष स्वतन्त्र रूपमा काम गरेपछि उनी विज्ञापन सामग्री, पुस्तिका र अन्य डिजिटल सामग्री बनाउने कामबाट दिक्क भइन् । सन् २०२६ को वसन्तमा उनले नयाँ पेसा सुरु गर्ने निर्णय गरिन् ।
उनका अनुसार, सबै काम छिटो गर्नुपर्ने दबाब बढिरहेका बेला उनी स्क्रिन र किबोर्डबाट टाढा रहेर वास्तविक सामग्रीसँग काम गर्न चाहन्थिन् । उनले ढुंगा कुँद्ने, रङ्गीन सिसाको काम, कढाइ र टेपेस्ट्रीजस्ता सीप पनि प्रयोग गरेर हेरिन् । अन्ततः मोजाइक कलालाई आफ्नो पेसाका रूपमा रोजिन् ।
उनले जेनेरेटिभ एआईसँग प्रतिस्पर्धा गर्ने वा आफ्नो काममा यसको प्रयोग गर्नुपर्ने बाध्यता स्वीकार गर्ने सामथ्र्य आफूमा नरहेको बताएकी छन् । आम्दानी घट्ने र पहिलेको जीवनस्तर कायम राख्न नसकिने सम्भावना हुँदाहुँदै पनि आफूलाई खुसी बनाउने काम रोज्नु उचित लागेको उनको भनाइ छ ।
एआईले कामको अर्थ खोस्दै गएको चिन्ता
३४ वर्षीया आइना डिजिटल क्षेत्रमा एक दशकभन्दा बढी काम गरेपछि हस्तकलातर्फ लागेकी छन् । ई–कमर्स परियोजना व्यवस्थापकबाट सञ्चार एजेन्सीको डिजिटल विभाग प्रमुख बनेकी उनले सन् २०२३ देखि २०२६ सम्म एआईसम्बन्धी कामसमेत सम्हालेकी थिइन् ।
तर च्याटबट र स्वचालित प्रणालीले ग्राहक र कर्मचारीबीचको प्रत्यक्ष सम्पर्क घटाउँदै लगेको उनको अनुभव थियो । कम्पनीले आर्थिक कारण देखाउँदै उनलाई कामबाट हटाएपछि उनले माडागास्करमा रेशमका कपडा र काठका सजावटी सामग्री बनाउने आफ्नै कार्यशाला सुरु गरिन् । अहिले उक्त कार्यशालामा पाँच महिलाले रोजगारी पाएका छन् ।
उनका अनुसार, नयाँ कामले मानवीय सम्बन्ध र स्थानीय उत्पादनसँग पुनः जोडिने अवसर दिएको छ । एआईको वातावरणीय प्रभावप्रति पनि उनले चिन्ता व्यक्त गरेकी छन् । सञ्चार क्षेत्रमा काम गरेका २९ वर्षीय जोनासले पनि एआईको प्रयोग बढेपछि आफ्नो कामको स्वरूप बिग्रिएको अनुभव गरे । उनले काम गरेको एजेन्सीमा सन् २०२४ देखि बैठकका टिपोट, सारांश र प्रस्तुतीकरण तयार गर्न एआईको प्रयोग हुन थालेको थियो । यसले काम छिटो बनाए पनि सिर्जनात्मक पक्ष कमजोर भएको र कर्मचारीमाथि कामको बोझ बढेको उनको भनाइ छ ।
कामको अत्यधिक चापका कारण तनावमा परेपछि उनले सन् २०२५ मा जागिर छाडे । अहिले उनी बोर्डो क्षेत्रमा अर्थशास्त्र तथा सामाजिक विज्ञानका शिक्षकका रूपमा काम गर्छन् । पहिले मासिक करिब ३ हजार युरो कमाउने उनी अहिले १ हजार ८०० युरो खुद आम्दानी गर्छन् । आम्दानी घटे पनि नयाँ कामले बौद्धिक स्वतन्त्रता र सन्तुष्टि दिएको उनको भनाइ छ ।
सबै युवा म्यानुयल अर्थात् हातको कामतर्फ गएका छैनन्
पेरिस–डोफिन विश्वविद्यालयकी समाजशास्त्रकी सहप्राध्यापक आन जोर्डनका अनुसार, हातले गरिने पेसामा जाने युवाको संख्या बढेको भए पनि यस्तो परिवर्तन गर्नेहरू अझै अल्पमतमा छन् । एआईले अध्ययनका क्रममा युवाले देखेका व्यावसायिक सम्भावना र वास्तविक कार्यस्थलको अनुभवबीचको दूरी थप बढाएको उनको विश्लेषण छ ।
युवा श्रमिकहरू आफ्नो जीवनभर एउटै पेसा वा संस्थामा काम गर्नुपर्ने सोचबाट टाढिँदै गएको रोजगारसम्बन्धी अर्थशास्त्री लिसा फेइस्ट बताउँछिन् । यद्यपि, सबैले लामो तालिम लिएर पेसा परिवर्तन गर्न सक्दैनन् । घरको ऋण र नियमित आम्दानीको आवश्यकताले कतिपयलाई अर्को क्षेत्रमा जान कठिन बनाएको छ । विज्ञापन क्षेत्रमा काम गरेकी ३३ वर्षीया एनोरा भने तालिममा लामो समय खर्च नगरी रिसेप्सनिस्टको कामबाट कार्यक्रम व्यवस्थापनतर्फ अघि बढेकी छन् । प्रत्यक्ष मानिससँग भेटघाट गर्नुपर्ने कामले आफूलाई बढी सन्तुष्टि दिएको उनको भनाइ छ ।