अमेरिकी न्याय विभागले पूर्व संघीय अनुसन्धान ब्युरो (एफबीआई) निर्देशक जेम्स कोमीमाथि तेस्रोपटक आपराधिक आरोप लगाएको छ।
सन् २०१६ मा एफबीआई निर्देशक रहेका बेला राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचना पत्रकारलाई चुहाएको आरोपमा कोमीमाथि सोमबार नयाँ अभियोग लगाइएको हो। अदालतमा सार्वजनिक गरिएका कागजातअनुसार, उनले आफ्ना कर्मचारीलाई गोप्य सूचना चुहाउन निर्देशन दिएको आरोप छ।
कोमीले भने आरोप अस्वीकार गर्दै न्याय विभागको कदमलाई शक्तिको दुरुपयोग बताएका छन्। उनका वकिलका अनुसार, यस विषयमा पहिले नै अनुसन्धान भइसकेको थियो।
न्याय विभागले नयाँ अभियोगलाई औपचारिक रूपमा दर्ता नगरेको जनाएको छ। विभागका अनुसार, यो कदम जासुसीसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाउन पाउने १० वर्षे हदम्याद लम्ब्याउने प्रयास हो। उक्त हदम्याद अक्टोबर ५ मा समाप्त भएको थियो।
अब न्याय विभागको कदम कानुनी रूपमा वैध छ कि छैन भन्ने निर्णय अदालतले गर्नेछ। कोमीमाथि यसअघि पनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित छुट्टाछुट्टै मुद्दा चलाइएको थियो।