मलेसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आकर्षक तलबको प्रलोभन देखाएर लामो समयसम्म झुक्याउने र मलेसिया पठाउने भन्दै सम्पर्कविहीन हुने गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले जिल्ला काठमाडौं महानगरपालिका–१४, कलंकीबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा संजय सुवेदी (४४) र मधुमालती स्याङ्ताङ (३४) रहेका छन्।

प्रहरीका अनुसार सुवेदीले मलेसिया पठाइदिने भन्दै एक पीडितबाट ७ लाख रुपैयाँ र स्याङ्ताङले अर्का पीडितबाट २ लाख रुपैयाँ लिएको आरोप छ। दुवै घटनामा एक–एक जना पीडित रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने नाममा रकम बुझाउनुअघि सम्बन्धित म्यानपावर कम्पनीको वैधानिकता, श्रम स्वीकृति र रोजगारसम्बन्धी कागजात यकिन गर्न प्रहरीले आग्रह गरेको छ।

May be an illustration of blueprint and text