साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन ।
रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका छन्। एक कूटनीतिक स्रोतले उहाँ चढेको हक्र्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन् ।
वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर तथा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित वरिष्ठ अधिकारीहरू सहभागी रहेको बताइएको छ ।
साउदी विमानस्थल र तेलसम्बन्धी संरचनामाथि बढ्दो आक्रमणले आर्थिक क्षति पुर्याइरहेका बेला इरानले साउदी अरेबिया र हुथीहरूबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको हो । हर्मुज जलघाँटीमा ट्याङ्करमाथि भएका इरानी आक्रमणले खाडी क्षेत्रबाट हुने तेल निर्यातसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।
साउदी विदेश मन्त्रालयले आफ्नो रक्षामन्त्री तथा मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिहरूको तेहरान भ्रमण तनाव घटाउने, संवाद र कूटनीतिक समाधानलाई प्रोत्साहन गर्ने तथा कतार र पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने उद्देश्यले भएको जनाएको छ ।
साउदी अधिकारीका अनुसार हुथीहरूसँगको विवाद तीन वर्षअघि भएको समझदारी कार्यान्वयनसँग पनि सम्बन्धित छ । उक्त समझदारीमा हुथी नियन्त्रित क्षेत्रमा सार्वजनिक कर्मचारीको तलब भुक्तानी र नागरिक पूर्वाधार पुनर्निर्माणका लागि साउदी अरेबियाले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था थियो । बदलामा हुथीहरूले युद्धविराम कायम राख्ने र साउदीमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो ।
हुथीहरूले पछिल्ला महिनामा साउदी अरेबियाले पुरानो समझदारी कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन् । तर, साउदी पक्षले सैन्य दबाबमा नयाँ युद्धविराम स्वीकार्न र यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबाट कब्जा गरिएका क्षेत्र फिर्ता गर्नुअघि हुथीहरूलाई रकम दिन विरोध गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इरान, अमेरिका र इजरायलबीच क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो वार्तालाई तेहरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्ने र नयाँ सुरक्षा संरचनाको पहल गर्ने प्रयासका रूपमा हेरिएको छ । पाकिस्तानी सेना प्रमुखको अघिल्लो साता भएको भ्रमणका क्रममा अघि बढाइएको यस पहललाई इरानी नेतृत्व र मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिबीचको पहिलो औपचारिक बैठक भनिएको छ ।
अमेरिका र इजरायलको सैन्य हस्तक्षेपको विरोध गर्दै आएको इरानले आफूलाई क्षेत्रीय कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको रिपोर्टमा उल्लेख छ । तर, हुथीहरूलाई एक अर्ब डलर दिने प्रस्ताव र रकम तेहरान ल्याइएको दुवै दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।