काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा मलेसियासँग द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी) को बैठक काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरेको छ।
नेपाल र मलेसियाबिच श्रमिक भर्ना प्रक्रियामा देखिएका समस्या आपसी संवाद, सहकार्य र समझदारीमार्फत समाधान गर्ने उद्देश्यले सरकारले कूटनीतिक पहल अघि बढाएको हो।
परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै नेपाली श्रमिकको भर्ना प्रक्रियामा प्रयोग हुँदै आएको एफडब्लुसीएमएस प्रणालीसँग सम्बन्धित विषय तथा श्रम आप्रवासन क्षेत्रका अन्य सवालमा छलफल गर्न प्रस्ताव गरेको छ।
नेपालले प्रस्तावित बैठकका लागि सन् २०२६ नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ गतेको मिति प्रस्ताव गरेको छ। मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको अन्तिम मिति तय गर्न सकिने नेपालले जनाएको छ।
श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै मुलुकबीच आपसी सहमतिमा नयाँ व्यवस्था नहुँदासम्म हालको प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ।
प्रस्तावित बैठकमा नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै सन् २०१८ मा नेपाल र मलेसियाबिच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषय पनि बैठकको प्रमुख एजेन्डामा रहनेछ।
नेपाल सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन र दुवै देशको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रस्तावित संयुक्त कार्यदलको बैठकले नेपाली श्रमिकको भर्ना प्रक्रियामा देखिएका विषय समाधान गर्न तथा नेपाल–मलेसिया श्रम सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।