जजिरा एयरवेज

जजिरा एयरवेजको ट्राभल एडभाइजरी, एक्जिट पर्मिट अनिवार्य

आप्रवासन आप्रवासन

यदि तपाईँ कुवेतमा हुनुहुन्छ भने यो सूचना तपाईँहरूका लागि हो । यदि तपाईँ कुवेतबाट नेपाल फर्कन खोज्दै हुनुहुन्छ भने एक्जिट पर्मिट लिन नबिर्सिनु होला । एक्जिट पर्मिट बिना तपाईँलाई अब कुवेती जहाज जजिरा एयरवेजले समेत नचढाउने भएको छ ।

एयरवेजले एक ट्राभल एडभाइजरी जारी गर्दै कुवेत छाड्ने विदेशी कामदार यात्रुहरूले जुलाई १ बाट एक्जिट पर्मिट अनिवार्य देखाउनु पर्ने उल्लेख गरेको हो ।

एक्जिट पर्मिट बिना पासपोर्ट कन्ट्रोलको काम नहुने भन्दै सो अभावमा फ्लाइट क्यान्सिल भएमा आफू जिम्मेवार नहुने एयरवेजको भनाई छ ।

यसअघि, कुवेतको गृह मन्त्रालयले निजी क्षेत्रमा काम गर्ने आप्रवासी कामदारलाई स्वदेश फर्कन जुलाई १ बाट एक्जिट पर्मिट अनिवार्य लागु गराउने निर्णय गरेको थियो ।

योसँगै बिदामा घर फर्कने वा सम्झौता सकिएर स्वदेश फर्कने नेपाली कामदारले अनिवार्य रूपमा रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने भएको हो ।

एक्जिट पर्मिटका लागि साहेल एप वा पब्लिक अथोरिटी अफ म्यानपावरको वेबसाइट www.manpower.gov.kw  मार्फत निवेदन दिन सकिने छ ।

निवेदनमा कामदारको व्यक्तिगत विवरण, यात्राको मिति र माध्यम जस्ता विवरण भर्नुपर्ने छ ।