जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए

आप्रवासन आप्रवासन

जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति फ्र्याङ्कफर्टमा पसलहरू लुटिएका छन् ।

जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा हिंसात्मक घटना भएका छन् । प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि आगोको राँको, ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर उनीहरूलाई तितरबितर पारेको थियो ।

‘जेन जेड रेगेल्ट’ (जेन जेडले नेतृत्व गर्छ) नामक अभियान समूहको आह्वानमा हजारौँ युवा प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले विद्यालय तथा शिक्षा क्षेत्रमा अपर्याप्त बजेट, सामाजिक सेवामा कटौती, बढ्दो जीवनयापन खर्च र अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए ।

दिनभर प्रदर्शन शान्तिपूर्ण रहे पनि राति हिंसात्मक घटना भएका हुन् । फ्र्याङ्कफर्ट प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत सहरको केन्द्रमा हिंसात्मक दंगा भइरहेको जनाएको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीले धेरै पसलका सिसा फुटाएका थिए भने आपत्कालीन सेवाका कर्मचारीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए ।

पछि प्रहरीले हतियार बिक्री गर्ने पसलको सिसा फुटाइएको र एक संदिग्धलाई पक्राउ गरी दुईवटा हतियार बरामद गरिएको जनाएको छ । घटनापछि फ्र्याङ्कफर्टको प्रमुख व्यापारिक सडकको ठूलो भाग बन्द गरिएको थियो । प्रहरीले सहरमा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

हेसे राज्यका गृहमन्त्री रोमन पोसेकले फ्र्याङ्कफर्टको प्रदर्शनमा करिब १०० जना पहिचान गरिएका वामपन्थी अतिवादी सहभागी भएको आरोप लगाए । प्रदर्शनको अन्त्य हिंसात्मक हुनु लज्जास्पद भएको उनको भनाइ छ ।

‘फ्रान्समा भएका लुटपाट, घर तथा प्रहरीका गाडी जलाउने र प्रहरीमाथि आक्रमणका दृश्य हामी सबैको मनमा छन् । फ्रान्सलाई यस मामिलामा उदाहरणका रूपमा प्रस्तुत गर्नु हुँदैन,’ उनले भनेका छन् ।

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूले प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएको अनुमान गरेका छन् । आयोजकले भने आफ्नो वेबसाइटमा यसभन्दा झन्डै दोब्बर प्रदर्शनकारी सहभागी हुने अनुमान गरेका थिए ।

अभियान समूहकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका लागि आवाज उठाउनु रहेको बताइन् । उनले स्वास्थ्य र शिक्षा प्रणालीलाई थप सहयोग गर्नुपर्ने, अनिवार्य सैन्य सेवाको विरोध गर्नुपर्ने र आर्थिक भारको न्यायपूर्ण वितरण हुनुपर्ने माग राखिन् ।

जर्मनीमा भएको प्रदर्शन युरोपका अन्य देशमा चर्किएको युवा आन्दोलनसँग पनि जोडिएको छ । शनिबार फ्रान्समा पनि तीन लाख २० हजारभन्दा बढी मानिसले महँगीविरुद्ध प्रदर्शन गरेका थिए भने पोर्चुगलमा पनि सरकारले ल्याउँदै गरेको घरभाडा विधेयकको विरोधमा प्रदर्शन भएका थिए ।