रुसी कब्जामा रहेको युक्रेनी सहरबाट सयौँ नागरिकको उद्धार, भन्छन्–‘हामी नर्कबाट फर्कियौँ’

आप्रवासन आप्रवासन

रुसको कब्जामा रहेको युक्रेनको अग्रपङ्क्तिको सहर ओलेश्कीबाट उद्धार गरिएका नागरिकहरूले आफूहरू ‘नर्कबाट फर्किएको’ बताएका छन् । चार वर्षदेखि युद्धको भयावह अवस्था झेलिरहेका सयौँ नागरिक शनिबार बेलारुस हुँदै युक्रेनको उत्तरी क्षेत्र चेर्निहिभ पुगेका छन् ।

उद्धार गरिएका नागरिकमध्ये धेरैले वर्षौँदेखि भेट्न नपाएका आफन्तसँग भावुक पुनर्मिलन गरेका छन् । रुसी सेनाको कब्जामा रहेको ओलेश्कीबाट सुरक्षित स्थानमा पुगेपछि उनीहरूले त्यहाँको जीवनलाई भयावह र कष्टकर बताएका छन् ।

ओलेश्की सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेलगत्तै कब्जा गरेको थियो । ड्निप्रो नदीको एकातिर र अर्कोतिर रुसी सेनाले घेरिएको यो सहर युद्धको अग्रपंक्तिमा पर्दछ ।

ओलेश्कीमा आफ्ना छोरा र छोरीसँग बस्दै आएका ओल्गा र उनका पति भियाचेस्लाभले त्यहाँको अवस्था निकै भयावह रहेको बताए ।

‘हामी नर्कबाट फर्कियौँ,’ भियाचेस्लाभले चेर्निहिभ पुगेपछि भने । उनकी पत्नी ओल्गाले भने विगत केही वर्षको जीवनलाई एक शब्दमा ‘भयावह’ भनेर व्याख्या गरिन् ।

सहरमा गोलाबारी तीव्र हुँदै गए पनि बाहिर निस्कनु झनै जोखिमपूर्ण हुने डरले उनीहरू लामो समयसम्म त्यहीँ बसेका थिए । उद्धारका सम्भावित मार्गमा बारुदी सुरुङ बिछ्याइएको थियो भने ड्रोन आक्रमणको जोखिम पनि उत्तिकै थियो ।

खाद्यान्नको अभाव बढ्दै गएपछि ओल्गा र भियाचेस्लाभले यसै महिनाको सुरुवातमा बारुदी सुरुङ भएको क्षेत्र पार गरेर खानेकुरा खोज्ने प्रयास गरेका थिए ।

‘मानिसहरू बाँच्नका लागि मात्रै बारुदी सुरुङमा पाइला राखिरहेका थिए । कोही मारिइरहेका थिए, कोही अपांग भइरहेका थिए,’ ओल्गाले बीबीसीसँग भनिन् ।

सहरबाट बाहिर निस्कन डराएका केही मानिसले बगैँचामा उम्रिएका झारपात पकाएर खान थालेका थिए । ‘अवस्था सुध्रिने कुनै संकेत देखिएन । त्यसैले हामीले त्यहाँबाट निस्कनैपर्छ भन्ने महसुस गर्यौँ,’ ओल्गाले भनिन् ।

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा खेरसोन क्षेत्रमा मानवीय युद्धविराम लागू भएपछि ओलेश्कीका नागरिकलाई उद्धार गर्ने अवसर खुलेको थियो । युद्धविरामले चार वर्षपछि पहिलोपटक त्यस क्षेत्रमा केही दिन शान्ति कायम गरेको थियो । त्यसपछि शुक्रबार नागरिकलाई सहर छाड्न चार घण्टाको समय दिइएको थियो ।

उद्धारका लागि २५ वटा बस परिचालन गरिएको थियो । ती बसबाट अधिकतम ७५० जनालाई बाहिर निकाल्ने व्यवस्था गरिएको थियो । हिँडडुल गर्न नसक्ने नागरिकका लागि एम्बुलेन्ससमेत परिचालन गरिएको थियो । ओलेश्की र आसपासका क्षेत्रमा अझै करिब ६ हजार मानिस बसिरहेको अनुमान गरिएको छ । तीमध्ये करिब १ हजार ७०० जना सहरभित्रै रहेको बताइएको छ । उद्धार अभियानपछि पनि ठूलो संख्यामा नागरिक रुसी कब्जामा रहेको क्षेत्रमा फसेका छन् ।

ओलेश्कीबाट उद्धार गरिएका नागरिक रुसी कब्जामा रहेको क्षेत्र हुँदै दक्षिणी रुस पुगेका थिए । त्यसपछि उनीहरू हवाई मार्गबाट बेलारुस पुगेका थिए । बेलारुसबाट बसमार्फत शनिबार युक्रेनको चेर्निहिभस्थित सैनिक शिविरमा ल्याइएको थियो ।

उद्धार केन्द्रमा पुगेका केही वृद्धवृद्धा यति कमजोर थिए कि उनीहरूलाई स्ट्रेचरमा बोकेर ल्याउनुपरेको थियो ।