काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्कीले आफ्ना पूर्व विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लूलाई आधिकारिक उम्मेदवार बनाएसँगै वर्तमान महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा आठ जना पुगेका छन् ।
टर्कीले अक्टोबर ३० मा सिनिरलियोग्लूको नाम औपचारिक रूपमा प्रस्ताव गरेको हो ।
सिनिरलियोग्लूबाहेक महासचिव पदका लागि अहिले सात जना उम्मेदवार छन् । संयुक्त राष्ट्रसंघको आधिकारिक विवरणअनुसार उनीहरूमा अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्सपान, युगान्डाका ओलारा ओटुनु, गुयानाकी क्यारोलिन रोड्रिगेज बिर्केट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, इक्वेडरकै इभोन्ने ए–बाकी र संयुक्त अरब इमिरेट्स (यूएई) की लाना नुसेइबेह छन् ।
यीमध्ये ग्रोसी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक हुन् । ग्रिन्स्पान संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनकी महासचिव हुन् ।
ओटुनु युगान्डाका पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ हुन् भने रोड्रिगेज बिर्केट गुयानाकी संयुक्त राष्ट्रसंघका लागि पूर्व स्थायी प्रतिनिधि हुन् । एस्पिनोसा संयुक्त राष्ट्रसंघ महासभाकी पूर्व अध्यक्ष हुन् । ए–बाकी इक्वेडरकी कूटनीतिज्ञ हुन् भने नुसेइबेह यूएईकी वरिष्ठ कूटनीतिज्ञ हुन् ।
पछिल्लो पटक राष्ट्रपति रेचेप तैयप एर्दोगानको समर्थनमा अघि सारिएका ७० वर्षीय फेरिदुन सिनिरलियोग्लू सन् २०१५ मा केही महिनाका लागि तुर्कियेका विदेशमन्त्री बनेका थिए । त्यसपछि सन् २०१६ देखि २०२३ सम्म संयुक्त राष्ट्रसंघका लागि तुर्कियेका राजदूतका रूपमा काम गरेका उनी हाल युरोपमा सुरक्षा तथा सहयोग संगठन (ओएससीई) का महासचिव छन् । उनको वर्तमान कार्यकाल सन् २०२७ डिसेम्बरमा सकिँदैछ । एर्दोगानले लामो समयदेखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सुधार गर्नुपर्ने र पाँच स्थायी सदस्य राष्ट्रको अत्यधिक प्रभाव अन्त्य हुनुपर्ने माग गर्दै आएका छन् ।
यसअघि प्रतिस्पर्धामा रहेका चिलीकी पूर्वराष्ट्रपति मिचेल बाचेलेट र सेनेगलका पूर्वराष्ट्रपति माकी सालले भने उम्मेदवारी फिर्ता लिइसकेका छन् । बाचेलेटको उम्मेदवारी सेप्टेम्बर २१ र सालको अक्टोबर २० मा फिर्ता भएको संयुक्त राष्ट्रसंघको अभिलेखमा उल्लेख छ ।
ग्रिन्सपान सबैभन्दा अगाडि
अक्टोबर ३० मा भएको सुरक्षा परिषद्को पछिल्लो अनौपचारिक मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्सपान सबैभन्दा अगाडि देखिएकी छन् ।
उनले ११ मत समर्थन र चार मत विपक्षमा पाएकी थिइन् । अर्जेन्टिनाका राफेल ग्रोसी नौ समर्थन मतसहित दोस्रो स्थानमा रहे । गुयानाकी क्यारोलिन रोड्रिगेज बिर्केटले आठ र यूएईकी लाना नुसेइबेहले सात समर्थन मत पाएकी थिइन् ।
रोयटरर्सका अनुसार सात चरणको अनौपचारिक मतदानमध्ये पाँच चरणमा ग्रिन्सपान अग्रस्थानमा रहेकी छन् । यद्यपि, यो मतदान अन्तिम चयन होइन ।
पाँच शक्तिराष्ट्रको भिटो निर्णायक
संयुक्त राष्ट्रसंघको महासचिव चयनमा १५ सदस्यीय सुरक्षा परिषद्को मुख्य भूमिका हुन्छ । कुनै उम्मेदवारले परिषद्का कम्तीमा नौ सदस्यको समर्थन पाउनुपर्छ । साथै अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनमध्ये कुनै पनि स्थायी सदस्यले भिटो लगाउनु हुँदैन । परिषद्ले सिफारिस गरेको उम्मेदवारलाई १९३ सदस्यीय महासभाले नियुक्त गर्ने व्यवस्था छ ।
गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ । नयाँ महासचिवले सन् २०२७ जनवरी १ देखि जिम्मेवारी सम्हाल्नेछन् ।
यसपटक महासचिव पद ल्याटिन अमेरिका वा क्यारिबियन क्षेत्रलाई दिनुपर्ने अनौपचारिक क्षेत्रीय परम्पराको चर्चा पनि छ । त्यसले ग्रिन्सपान, ग्रोसी, रोड्रिगेज बिर्केट र इक्वेडरका उम्मेदवारलाई सम्भावित लाभ पुग्न सक्छ । तर सुरक्षा परिषद्का पाँच स्थायी सदस्यबीचको सहमति नै अन्तिम निर्णयको निर्णायक आधार हुनेछ ।