उत्तर कोरियालाई ‘पूर्णरूपमा’ परमाणु निःशस्त्रीकरणको प्रतिबद्धता

आप्रवासन आप्रवासन

 अमेरिका, दक्षिण कोरिया र जापानले शनिबार उत्तर कोरियालाई ‘पूर्णरूपमा परमाणु निःशस्त्रीकरण’ गराउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्योङयाङले वाशिङटनसँग सम्भावित वार्ताअघि निःशस्त्रीकरण अस्वीकार गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को महिना चीनमा हुने एपेक सम्मेलनमा भेट हुनसक्ने अनुमान बढ्दै गएको छ ।

ट्रम्पले प्योङयाङसँग परमाणु वार्ताका लागि बारम्बार आग्रह गर्दै आएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उनका दक्षिण कोरियाली र जापानी समकक्षी क्रमशः चो ह्युन र तोशिमित्सु मोटेगीले शुक्रबार अमेरिकी राज्य जर्जियाको एट्लान्टामा भएको जी–२० बैठकको क्रममा भएको वार्तामा उत्तर कोरियाको ‘पूर्ण परमाणु निःशस्त्रीकरण’ प्रति दृढ प्रतिबद्धता जनाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूको ‘पूर्ण कार्यान्वयन’ को पनि प्रतिज्ञा गरेका छन् । जसमा उत्तर कोरियाको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आम्दानीमा सहयोगमाथि प्रतिबन्ध छ ।

दीर्घकालीन संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद रुस र चीनको समर्थन रहेको उत्तर कोरियाले आफूलाई कानूनमै परमाणु हतियारयुक्त राज्यको रूपमा स्थापित गरेको छ ।

यसको शासनले बारम्बार आफ्नो परमाणु भण्डार स्थायी र अपरिवर्तनीय भएको घोषणा गर्दै आएको छ। ट्रम्पले प्योङयाङसँग परमाणु वार्ताका लागि बारम्बार भेटका लागि खुला आग्रह गर्दै आएका छन् भने सहयोगी दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष लामो समयदेखिको अमेरिकी नीतिलाई चुनौती दिँदै उत्तर कोरिया पहिले नै ‘एक प्रकारको परमाणु शक्ति’ भएको स्वीकार गरेका थिए।

उनी वार्ताका लागि भेटका गर्न ‘शतप्रतिशत’ खुला रहेको बताउनुभएको थियो । तर यसको जवाफ आएको थिएन ।

किमले हालै चिनियाँ सीमा शहर दान्डोङको भ्रमणका क्रममा बेइजिङलाई ट्रम्पसँग सम्भावित वार्ताबारे प्योङयाङको अडान बताउनुभएको हुन सक्ने विश्लेषकहरू र दक्षिण कोरियाको गुप्तचर एजेन्सीले जनाइका छन् ।

दक्षिण कोरियाका शान्तिवादी राष्ट्रपति ली जे म्युङले बारम्बार पूर्वसर्तबिना वार्ताको प्रस्ताव गरेका छन् । सेप्टेम्बरमा वाशिङटनलाई उत्तर कोरियाको परमाणु कार्यक्रम तुरुन्त हटाउनुको सट्टा रोक्न लगाएर प्रतिबन्धमा राहत दिन सुझाव दिएका थिए ।

आलोचकहरू भन्छन्, “यस्तो दृष्टिकोणले उत्तर कोरियालाई परमाणु हतियारयुक्त राज्यको रूपमा मौन स्वीकार गर्ने जोखिम हुन्छ र प्योङयाङलाई आफ्नो भण्डार नत्यागी प्रतिबन्धमा राहत दिलाउन सक्छ ।”

विश्लेषकहरूका अनुसार चीन पनि मौन स्वीकारतर्फ अघि बढिरहेको हुन सक्छ । जुन महिनामा किम र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटपछिका वक्तव्यमा उत्तर कोरियाली परमाणु निःशस्त्रीकरण छुटेको तर्फ उनीहरूले औँल्याएका छन्।

प्योङयाङले शनिबार प्रतिबन्ध कार्यान्वयन अनुगमन गर्ने राष्ट्रहरूको समूहको संयुक्त वक्तव्यको निन्दा गर्दै भन्यो, “अमेरिका र पश्चिमको परम्परागत प्रतिबन्धको हल्लाखल्लाले उत्तर कोरियाको परमाणु हतियारयुक्त राज्यको हैसियतमा प्रभाव पार्न सक्दैन।”