पोर्चुगलको लिस्बनमा पनि प्रदर्शन, भाडासम्बन्धी विधेयक खारेजीको माग गर्दै हजारौँ उत्रे सडकमा

आप्रवासन आप्रवासन

 पोर्चुगलको राजधानी लिस्बनमा आवास संकट चर्किंदै गएपछि हजारौँ प्रदर्शनकारीले शनिबार फेरि सडकमा उत्रिएर सरकारले ल्याएको भाडासम्बन्धी विधेयक खारेज गर्न माग गरेका छन् ।

लिस्बनको प्रमुख सार्वजनिक स्थल ‘रोसियो स्क्वायर’मा भेला भएका प्रदर्शनकारीले आवासको बढ्दो मूल्य र महँगो भाडाले सर्वसाधारणको जीवन कठिन बनाएको भन्दै सरकारमाथि दबाब बढाएका हुन् । उनीहरूले विधेयकले आवास संकटलाई थप गम्भीर बनाउने भन्दै विरोध जनाएका छन् ।

युरोपकै सबैभन्दा गम्भीर आवास संकटमध्ये एकको सामना गरिरहेको पोर्चुगलमा सन् २०१७ यता घरको मूल्य दोब्बरभन्दा बढी भएको छ । नयाँ भाडा सम्झौताअन्तर्गतको भाडा पनि झन्डै दोब्बर पुगेको छ । यसबाट विशेषगरी युवा पुस्ता प्रभावित भएको छ ।

आवास अधिकारसम्बन्धी आन्दोलन ‘कासा पारा भिभिर’ की प्रवक्ता रिता सिल्भाले हप्तौँदेखि जारी प्रदर्शनले जनताको दृढता र प्रतिबद्धता देखाएको बताएकी छिन् । ‘आवास संकट, बढ्दो जीवनयापन खर्च र आजको समयमा गुजारा चलाउन भइरहेको ठूलो कठिनाइका बाबजुद मानिसहरूले ठूलो धैर्य, शक्ति र दृढता देखाइरहेका छन्,’ उनले भनिन् ।

सरकारले प्रदर्शनकारीका मागप्रति चासो नदेखाएको आरोप लगाउँदै सिल्भाले आन्दोलन जारी रहने बताइन् । 

प्रदर्शनकारीले सरकारले ल्याएको यस्तो विधेयक खारेज गर्न माग गरेका छन्, जसले घरबाट भाडावालालाई निकाल्न सहज बनाउने र नयाँ भाडा सम्झौतामा लागू भाडा सीमासम्बन्धी व्यवस्था अन्त्य गर्ने प्रावधान राखेको छ । उक्त विधेयक संसद्मा पहिलो चरणमा पारित भइसकेको छ । त्यसक्रममा दक्षिणपन्थी दल चेगा भने मतदानमा तटस्थ रहेको थियो ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले बिहीबार विधेयक खारेज नगर्ने स्पष्ट पारेका थिए । तर, आगामी केही साताभित्र हुने अन्तिम मतदानअघि त्यसमा संशोधन गर्न आफू तयार रहेको उनले बताएका थिए ।

उनले राजनीतिक दलहरूबीच सहमति आवश्यक भएपनि  सरकारको मुख्य कार्यदिशा भने परिवर्तन नहुने बताएका छन् । यसैबीच, समाजवादी पार्टीका नेता जोसे लुइस कार्नेरोले सरकारलाई विपक्षी दल र प्रदर्शनकारीसँग वार्ता गर्न आग्रह गरेका छन् । उनले सरकारमाथि आफ्नो धारणा जबर्जस्ती थोपर्ने र कहिलेकाहीँ अधिनायकवादी शैली अपनाउने आरोप लगाएका छन् ।

आवाससम्बन्धी प्रदर्शन पछिल्ला साताहरूमा तीव्र बनेका छन् । एक साताअघि सोही रोसियो स्क्वायरमा रहेको प्रदर्शनकारीको पाल हटाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको र दर्जनौँलाई पक्राउ गरेको घटनाप्रति पनि आलोचना भएको थियो ।

पोर्चुगलका गृहमन्त्री लुइस नेभेसले प्रदर्शनको वैधतालाई सरकारले सम्मान गर्ने बताए । तर, प्रदर्शन शान्तिपूर्ण, सभ्य र कानुनको दायराभित्र हुनुपर्ने उनले बताएका छन् ।

पोर्चुगलमा चर्किएको आवास संकटले युरोपका अन्य देशमा देखिएको असन्तुष्टिलाई पनि प्रतिबिम्बित गरेको छ । स्पेन, फ्रान्स र जर्मनीलगायतका देशमा पनि घरभाडा र आवासको मूल्यमा भएको तीव्र वृद्धिविरुद्ध प्रदर्शन भइरहेका छन् ।