नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) को आयोजनामा नेपाली उद्यमी तथा व्यवसायीका लागि लेखा, कर र कर्मचारी व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। नोभेम्बर १६, सोमबार एन्टवर्पेनस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा व्यवसायलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार रूपमा सञ्चालन गर्न आवश्यक विषयमा दुई सत्रमा प्रशिक्षण दिइएको थियो।
नेबाबका अध्यक्ष काशी दनैको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा विभिन्न पेसा र व्यवसायमा संलग्न करिब ५० जना नेपाली सहभागी थिए। सहभागीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगेका समस्या र प्रशासनिक जटिलताबारे विज्ञहरूसँग प्रत्यक्ष छलफल गरेका थिए।
कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष रमेश दाहालले सहभागी, अतिथि र प्रशिक्षकलाई स्वागत गरेका थिए। महासचिव रामचन्द्र सुवेदीले सञ्चालन गरेको कार्यक्रमका दुवै सत्रमा लेखा विज्ञ सांग्रिला थापाले नेपाली भाषामा सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा कुल २०८ वटा स्लाइड प्रस्तुत गरिएको थियो। पहिलो सत्रमा डच तथा नेपाली दुवै भाषामा स्लाइड प्रस्तुत गरिएका थिए। यसले सहभागीलाई लेखा, कर र व्यवसाय सञ्चालनसम्बन्धी प्राविधिक विषय बुझ्न सहज बनाएको थियो।
पहिलो सत्रमा प्रशिक्षक क्रिस्टोफ मेस्टर्सले बेल्जियममा व्यवसाय स्थापना र सञ्चालनका लागि आवश्यक कानुनी तथा वित्तीय प्रक्रियाबारे प्रशिक्षण दिएका थिए। उनले एकल व्यवसाय र कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्दा हुने भिन्नता, दर्ता प्रक्रिया, आवश्यक अनुमति, प्रारम्भिक तथा नियमित खर्च र व्यवसायीले पूरा गर्नुपर्ने दायित्वबारे जानकारी गराएका थिए।

होटल, रेस्टुरेन्ट तथा पसल सञ्चालन गर्ने व्यवसायीलाई ध्यानमा राख्दै स्थानीय निकायको अनुमति, खाद्य सुरक्षा निकाय FAVV सम्बन्धी प्रक्रिया, अग्निसुरक्षा तथा व्यावसायिक भवन र भाडा सम्झौताका विषय पनि समेटिएका थिए। चलिरहेको व्यवसाय वा कम्पनी खरिद गर्नुअघि त्यसको आर्थिक अवस्था, बाँकी दायित्व र आवश्यक प्रमाणपत्र जाँच गर्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।
मेस्टर्सले कारोबार, नाफा र व्यवसायीको व्यक्तिगत आम्दानीबीचको अन्तर उदाहरणसहित स्पष्ट पारेका थिए। ग्राहकबाट प्राप्त सम्पूर्ण रकम नाफा नहुने र त्यसबाट भ्याट, खरिद, भाडा, कर्मचारी खर्च, सामाजिक योगदान तथा कर छुट्याउनुपर्ने विषय प्रस्तुत गरिएको थियो। व्यवसायको वास्तविक आर्थिक अवस्था बुझ्न नियमित हिसाब राख्ने र आगामी भुक्तानीका लागि रकम छुट्याउने अभ्यासबारे पनि जानकारी दिइएको थियो।
पहिलो सत्रमा भ्याटको हिसाब, कर विवरण बुझाउने समयसीमा, खरिद तथा बिक्रीका बिल, दैनिक आम्दानीको अभिलेख र नगद खाता व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो। कम्पनीको नाफा, सञ्चालकको तलब, लाभांश वितरण, व्यावसायिक खर्च, सामाजिक योगदान र तलबबाट गरिने करकट्टीसँगै Peppol मार्फत इलेक्ट्रोनिक बिलिङ तथा डिजिटल लेखा व्यवस्थापनका विषय पनि समेटिएका थिए। व्यवसाय आर्थिक कठिनाइमा पर्दा समयमै सल्लाह लिने र लेखापालसँग नियमित समन्वय गर्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो।
दोस्रो सत्रमा इजीप्ले ग्रुपका रोएल बायेन्सले कर्मचारी नियुक्ति, सामाजिक सुरक्षा, तलब प्रशासन तथा मानव संसाधन व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए। उनले व्यवसाय सञ्चालन गर्दा सम्बन्धित देशको कानुन, नियम र रोजगारदाताको दायित्वबारे जानकारी राख्नुपर्नेमा जोड दिएका थिए।
कर्मचारी भर्ना प्रक्रिया, रोजगार सम्झौता, कार्यस्थलको श्रम नियमावली, दुर्घटना बीमा, DIMONA घोषणा तथा तलब र कामको विवरणसम्बन्धी प्रशासनिक प्रक्रियाबारे जानकारी दिइएको थियो। स्थायी, निश्चित अवधिका र आंशिक समयका रोजगार सम्झौतासँगै विद्यार्थी कामदार, फ्लेक्सी-जव तथा होटल–रेस्टुरेन्ट क्षेत्रमा आवश्यकताअनुसार नियुक्त गरिने अतिरिक्त कामदारका व्यवस्थाबारे पनि व्याख्या गरिएको थियो।
बायेन्सले कर्मचारी र रोजगारदाताबीच सेवा तथा सर्त स्पष्ट राख्ने, कामको समयको सही अभिलेख राख्ने र आवश्यक विवरण समयमै सामाजिक सचिवालयलाई उपलब्ध गराउने विषयमा जानकारी दिएका थिए। तलब निर्धारण, बिदा, अतिरिक्त कामको भुक्तानी तथा कर, वर्षान्त बोनस, इकोचेक, यातायात खर्च र कार्यपोशाकलगायतका सुविधाबारे पनि छलफल भएको थियो। कर्मचारीका व्यक्तिगत विवरणको सुरक्षा तथा रोजगार सम्झौता समाप्त गर्दा अपनाउनुपर्ने प्रक्रिया पनि दोस्रो सत्रमा समेटिएका थिए।
दुवै सत्रमा सहभागीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित समस्या र जिज्ञासा राखेका थिए। प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै सम्बन्धित विषयमा सुझाव दिएका थिए।
समापन सत्रमा अध्यक्ष काशी दनैले विगतका अनुभव र नेपाली व्यवसायीका व्यावहारिक आवश्यकतालाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए। व्यवसायीहरूको सक्रिय सहभागिताले आयोजकलाई थप उत्साहित बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि उपयोगी प्रशिक्षण र जानकारीमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
दनैले तालिमबाट मानव संसाधन, प्रशासन, रोजगार सम्झौता र कर्मचारी व्यवस्थापनका विषयमा धेरै कुरा सिक्ने अवसर मिलेको बताए। यसअघि अस्पष्ट रहेका विभिन्न प्रशासनिक विषय प्रशिक्षकको तयारी र प्रस्तुतिबाट थप स्पष्ट भएको उल्लेख गर्दै उनले व्यक्तिगत तथा नेबाबको तर्फबाट बायेन्सलाई धन्यवाद दिए।
गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपालले यस्ता कार्यक्रमले नेपाली उद्यमी तथा व्यवसायीलाई गुणस्तरीय र व्यवस्थित रूपमा काम गर्न प्रेरित गर्ने धारणा राखे। उनले व्यवसायीका आवश्यकतासँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे।
नेपाली व्यवसायी संघ युरोपका संयोजक यामु निरौलाले सफल व्यवसाय सञ्चालन गर्न सम्बन्धित देशको नियम, कानुन र प्रक्रियाबारे जानकारी हुनु आवश्यक रहेको बताए। उनले उद्यमी तथा व्यवसायीलाई लक्षित प्रशिक्षणको उपयोगिताबारे चर्चा गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक मेस्टर्स र बायेन्स, सहजीकरण गर्ने सांग्रिला थापा तथा फोटोग्राफर अर्जुन जैसवाललाई मायाको चिनो प्रदान गरिएको थियो। आयोजकले सहभागी, अतिथि, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको थियो।