काठमाडौं । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले मंसिर महिनाबाट सञ्चालन हुने तालिमका लागि इच्छुक योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार टुरिस्ट गाइड तालिमका लागि २८० जना छनोट गरिनेछ । उक्त तालिममा सहभागी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । १० हप्तासम्म सञ्चालन हुने यस तालिमको शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । तालिमका क्रममा हुने फिल्ड भिजिटको खानपान, बसोबास र यातायात खर्च भने सहभागी आफैँले व्यहोर्नुपर्नेछ ।
त्यस्तै, प्रतिष्ठानले २० जनाका लागि बरिस्टा तालिम पनि सञ्चालन गर्ने भएको छ । एक महिनाको उक्त तालिममा सहभागी हुन एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम शुल्क २४ हजार रुपैयाँ तोकिएको छ । कम्तीमा १० जना आवेदक भएमा मात्रै बरिस्टा तालिम सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।
दुवै तालिमका लागि मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले मंसिर १७ गते दिउँसो २ बजेपछि प्रतिष्ठानमा सम्पर्क गर्नुपर्नेछ । छनोटका लागि मंसिर २८ गते अन्तर्वार्ता सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
