चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।
अमेरिकी चिप निर्यात प्रतिबन्धका कारण अत्याधुनिक कम्प्युटिङ प्रविधिमा पहुँच कठिन हुँदै गएपछि चीनले यस्तो रणनीति अपनाएको हो ।
चीनका ३०० भन्दा बढी शैक्षिक अनुसन्धानपत्र, पेटेन्ट, कम्पनीका विवरण, रोजगारीसम्बन्धी सूचना र सरकारी दस्ताबेजको अध्ययन गर्दा अमेरिकी एआई मोडलबाट प्राप्त सामग्री प्रयोग गर्ने अभ्यास शैक्षिक अनुसन्धानमा मात्र सीमित नरही चीनको औद्योगिक क्षेत्रमा समेत विस्तार भएको पाइएको रोयटर्सको समाचारमा उल्लेख छ ।
यस प्रक्रियालाई ‘डिस्टिलेसन’ भनिन्छ । यसमा शक्तिशाली एआई मोडललाई ‘शिक्षक’ (टिचर) का रूपमा प्रयोग गरिन्छ । उक्त मोडलले विभिन्न प्रश्नको उत्तर दिने, कम्प्युटर कोड तयार गर्ने वा जटिल समस्याको समाधान प्रस्तुत गर्छ । त्यसबाट प्राप्त सामग्री प्रयोग गरेर तुलनात्मक रूपमा सानो र कम खर्चिलो एआई मोडललाई तालिम दिइन्छ । यसरी तयार भएको सानो मोडललाई ‘विद्यार्थी’ (स्टुडेन्ट) मोडल भनिन्छ ।
रोयटर्सको अध्ययनअनुसार चिनियाँ अनुसन्धानकर्ताहरूले अमेरिकी एआई मोडलबाट प्रश्नका उत्तर, कम्प्युटर कोड र जटिल समस्याका समाधान प्राप्त गर्ने गरेका छन् । त्यसपछि चिनियाँ कम्पनीहरूले यस्तो प्रक्रिया स्वचालित बनाउने सफ्टवेयर विकास गर्नुका साथै विशेष तालिमप्राप्त कर्मचारीमार्फत साना घरेलु एआई मोडललाई प्रशिक्षण दिन आवश्यक सामग्री तयार पारिरहेका छन् ।
बेइजिङले आफ्नो विशाल उत्पादन तथा औद्योगिक क्षेत्रमा एआई प्रविधिको प्रयोग सस्तो र सहज बनाउन पनि डिस्टिलेसनलाई प्रोत्साहन गरिरहेको छ ।
डिस्टिलेसन आफैँमा गैरकानुनी अभ्यास होइन । विश्वका अन्य मुलुकमा पनि यसको प्रयोग हुँदै आएको छ । यस प्रक्रियाबाट कुनै अत्याधुनिक एआई मोडलका सबै क्षमता जस्ताको तस्तै नक्कल गर्न सकिँदैन र शक्तिशाली कम्प्युटिङ प्रणालीको आवश्यकता पनि पूर्ण रूपमा हट्दैन ।
तर, यसले कम खर्चमा सञ्चालन गर्न सकिने साना मोडलमा आवश्यक क्षमताहरू विकास गर्न सहयोग पुर्याउँछ । यसबाट अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउन सकिन्छ ।
चीनले डिस्टिलेसनको प्रयोग विस्तार गरेपछि अमेरिकी चिप निर्यात प्रतिबन्धको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।
अमेरिकी प्रतिस्पर्धी कम्पनीका एआई मोडलबाट सिकेका क्षमता प्रयोग गरेर चीनले आफ्नै एआई प्रणाली विकास गर्न सक्ने भएकाले अमेरिकी प्रविधि प्रतिबन्धको प्रभाव सीमित हुन सक्ने विश्लेषण गरिएको छ ।
यसैबीच, अमेरिकाले सोमबार एनभिडियालगायत कम्पनीका अत्याधुनिक चिपमा चीनको पहुँच थप सीमित पार्ने घोषणा गरेको छ ।